चितवनः यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाका क्रियाशिल राजनैतीक दलहरु गाउँ पस्ने तयारीमा लागेका छन् । निर्बाचन आचार संहिताले कात्तिक १५ गते पछि मात्रै झण्डा र व्यानर सहित गाउँ पस्न दिने भए पनि दलका नेता कार्यकर्ता आफ्नो पक्षको उम्मेदवारलाई बिजयी गराउन गाउँ पस्न सुरु गरेका छन् ।
जिल्लामा सत्ता गठवन्धनका उम्मेदवारहरु अहिले आन्तरिक छलफल र गृहकार्यमानै व्यस्त रहेका छन् भने नेकपा एमाले सहितका अन्य दलहरु पनि उम्मेदवार सहित छलफल एबं परामर्शमानै व्यस्थ रहेका छन् । उम्मेदवार र दलहरु आन्तरिक गृहकार्यमा व्यस्त रहँदै गर्दा दलका तल्लो तहका नेताहरु भने आफ्नो पक्षमा मत माग्नका लागि गाउँगाउँ पुग्न सुरु गरिसकेका छन् ।
नेकपा एमाले चितवनका उपाध्यक्ष कमल पाठक अहिले झण्डा र व्यानर लिएर गाउँ पस्न नपाउने भए पनि उम्मेदवारहरु भने गाउँ छिरि सकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “औपचारीक रुपमा कात्तीक १७ गते देखि घरदैलो अभियान सुरु हुने भए पनि अहिले नेता कार्यकर्ता आ–आफ्नो तरीकाले भोट माग्ने काम भईरहेको छ ।” नेताहरुले भेटघाट र आन्तरिक छलफललाई तिब्र बनाएको उहाँले बताउनुभयो । जनताको माझ मत माग्न जाँदा नेकपा एमालेले राष्ट्रियता र सम्बृद्धिको नारा लिएर जाने बताउनुभयो ।
नेपाली काङ्ग्रेसका उम्मेदवारहरु अहिले क्षेत्रीय तथा पालिका स्तरको छलफलमा व्यस्त रहेको काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । क्षेत्रमा भेला बैठकहरु भईरहेको भन्दै उहाँले केही दिनमानै उम्मेदवारहरु गाउँ पस्ने बताउनुभयो । आचार संहितका कारण पार्टीको झण्डा र व्यानर लिन नमिले पनि मत माग्न मिल्ने भन्दै उहाँले दलका नेता कार्यकर्ताहरु गाउँ पस्ने तयारीमा रहेको बताउनुभयो । गठवन्धनको बैठक बसे लगत्तै उम्मेदवारहरु गाउँमा जाने उहाँको भनाई छ । उहाँले भन्नुभयो “गठवन्धनको बैठक एक÷दुई दिनमानै बस्छ । अनी हाम्रा उम्मेदवारहरु गाउँ छिर्नु हुन्छ ।” अहिले सम्पर्क कार्यालय स्थापना, निर्वाचन परिचालन समिति गठन, घोषणा पत्र तयारी समिति जस्ता महत्वपूर्ण समिति निर्माणको काम भईरहेको उहाँले जानकारी दिनुभयो । गठवन्धनका उम्मेदवारले प्रतिगमनको बिरुद्धमा लोकतन्त्रलाई बलियो बनाउँदै सम्बृद्धिका लागि मत माग्ने उहाँले बताउनुभयो । अहिले नेता कार्यकर्ता आफ्नो पक्षमा मत माग्न गाउँ पुगेको उहाँले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र केही दिनमानै घरदैलोमा जाने रणनितीमा रहेको छ । केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीका अनुसार पार्टीको र गठवन्धनको आन्तरिक बैठक सकिए लगत्तै घरदैलो अभियान सुरु हुने छ । उहाँले भन्नुभयो “आचार संहिताले पार्टीको झण्डा र व्यानर बोक्न रोकेको भए पनि जनतको घरमा पुग्न रोकेको छैन ।” उम्मेदवार र अन्य नेताहरु सहित घरदैलो सुरु गरिने उहाँको भनाई छ । अहिले दलका नेता तथा कार्यकर्ता गठवन्धनको पक्षमा मत माग्न गाउँ पसिसकेको उहाँले जानकारी दिनुभयो । गठवन्धनले सम्बृद्धिको नारा सहित प्रतिगमनको बिरुद्धमा मत माग्ने उहाँले बताउनुभयो ।
नेकपा एकिकृत समाजबादी पनि अहिले आन्तरिक गृहकार्यमा रहेको समाजबादीका जिल्ला उपाध्यक्ष अरुणपिडित भण्डारीले जानकारी दिनुभयो । अहिले निर्वाचन क्षेत्र, पालिका र वडा तहको बैठक जारी रहेको उहाँको भनाई छ । बैठक सकिए लगत्तै उम्मेदवार तथा नेता कार्यकर्ता जनताको घरदैलोमा पुगि सक्ने उहाँले बताउनुभयो । निर्वाचनलाई गठवन्धनको पक्षमा पार्नका लागि नेकपा एसका नेता कार्यकर्ता लागि सकेको उहाँको भनाई छ । यता राप्रपा पनि गाउँ पस्ने तयारीमा छ । सबै क्षेत्र र वडा स्तरमा निर्वाचन परिचालन समिति गठनको दौडमा रहेको राप्रपाकी केन्द्रिय सहमहामन्त्री रिना गुरुङले वताउनुभयो । उहाँले भन्नुभयो “अहिले हामी आन्तरिक छलफल र परिचालन समिति निर्माणमानै व्यस्त छौ । एक दुई दिनमा गाउँ पस्ने तयारीमा रहेका छौ ।”अहिले क्षेत्र, पालिका र वडा तहका नेता कार्यकर्ता मत माग्न गाउँ पसिसकेको उहाँले जानकारी दिनुभयो ।
तीन प्रतिनिधि सभा सदस्य र ६ प्रदेश सभा सदस्य क्षेत्र रहेको यस जिल्लामा हाल ४ लाख ८ हजार ३४२ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ८४५ जना, क्षेत्र नम्बर २ मा १ लाख २४ हजार २१४ जना र क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २८३ जना मतदाता रहेको जिल्ला निर्बाचन कार्यालय चितवनले जनाएको छ । जिल्लामा १६२ मतदान स्थल र ४६० मतदान केन्द्र रहेने छन् ।






