कानको भित्री तहमा एउटा जाली हुन्छ, जसको माध्यमबाट हामीले आवाज सुन्ने गर्छौं । यदि यो जाली फाट्यो वा त्यसमा कुनै समस्या आयो भने श्रवण शक्ति कमजोर हुन्छ । तर यति संवेदनशील कुराप्रति हामी उतिधेरै ख्याल राख्दैनौं । कान कोट्याउनेदेखि कानमा तेल हाल्नेसम्म हामी गरिरहेका हुन्छौं, जसले कानको जालीमा प्वाल पार्ने जोखिम हुन्छ ।

कानको जाली प्वाल परेपछि के हुन्छ ? यसले के कस्ता जटिलता निम्त्याउँछ ? यसै विषयमा नाक, कान, घाँटीरोग विशेषज्ञ डा. अरुण केसीसँग गरिएको कुराकानीको सम्पादित अंश :

कानको जालीको काम के हो ? यो कस्तो अवस्थामा हुन्छ ?

कानको मध्यभागमा जाली रहेको हुन्छ । कानको बाहिरी भाग जसले बाहिरको आवाजलाई भित्र लैजाने काम गर्छ । आवाज जब कानमा प्रवेश गर्छ, तब कानको पर्दामा कम्पन हुन्छ । यो कम्पनले मस्तिष्कमा संकेत दिन्छ । कानको जालीको माध्यम हुँदै आवाज मस्तिष्कसम्म पुग्ने भएकाले यसको मुख्य काम आवाज सुन्न सहयोग गर्ने हो ।

कानको जाली कति संवेदनशील हुन्छ ?

कानको जाली एकदमै संवेदनशील हुन्छ । किनभने कान हाम्रो इन्द्रिय हो, यसमार्फत हामीले आवाज सुन्छौं । कानमा रहेको जालीको मद्दतले हामीले आवाज सुन्ने भएकाले यसमा केही समस्या भयो भने सुनाइमा प्रत्यक्ष असर गर्छ ।

कस्तो अवस्थामा कानको जालीमा प्वाल पर्छ ?

कानमा पटकपटक संक्रमण हुँदा कानमा प्वाल पर्ने जोखिम हुन्छ । संक्रमण हुँदा पर्दापछि तरल पदार्थ एकत्रित हुन थाल्छ, त्यसैको दबाबले पर्दामा प्वाल पर्छ । साथै चोटपटकको कारण ट्रमा भएर पनि कानको जाली प्वाल पर्छ ।

अक्सर हामी कान कोट्याउने गर्छौं, यसले जालीमा प्वाल पर्छ ?

कान चिलाउने बित्तिकै एयर बर्ड, सिन्का लगायत प्रयोग गरेर हामी कान कोट्याउने गर्छौं, जसले गर्दा पनि कानमा प्वाल पर्न सक्छ । कानको जाली कहाँनिर छ भनेर मान्छेलाई थाहा हुँदैन र कान कोट्याउन तीखो चीजले घोच्दा कानको जालीमा प्वाल पर्न सक्छ ।

बालबच्चालाई कानमा तेल हालिदिने गरिन्छ, यो कति ठीक हो ?

बालबालिकालाई कानमा तेल हाल्दिने जुन चलन छ त्यसको फाइदा केही पनि छैन । कानमा तेलको प्रयोग गर्दा विभिन्न संक्रमणको जोखिम भने बढ्छ । कानमा तेल हाल्ने मान्छेको कानमा ढुसीको संक्रमण, कान चिलाउने र कानबाट पानी बग्ने जस्ता समस्या देखिन सक्छन् ।

कानको जाली प्वाल परेको मान्छेले कानमा तेल हाल्यो भने त्यो तेल झन् भित्रसम्म पुगेर संक्रमण गर्न सक्छ । त्यसैले कानमा तेल नहाल्नु नै उचित हुन्छ ।

कानको जाली फाटेमा के हुन्छ ?

कानको पर्दामा प्वाल पर्‍यो भने यसको असर सुन्ने क्षमतामा पर्छ । पर्दामा प्वाल परेपछि सुन्ने क्षमता कमजोर हुन्छ । यो समस्या भएमा कानबाट पानी बगिरहने, पिप आउने जस्ता समस्या पनि देखिन सक्छ ।

कानको जाली फाटेपछि यो आफैं टालिन्छ ? वा केही उपचार गर्नुपर्ने हुन्छ ?

कानको जाली फाट्ने मुख्य दुईवटा कारण हुन्छ । पहिलो कानमा पटकपटक संक्रमण भएर र दोस्रो कानमा चोटपटक लागेर । चोटपटकको कारण कानको जाली फाटेको हो भने त्यो आफैं टालिन्छ । तर धेरै पटक कानमा संक्रमण भएर फाटेको हो भने जाली आफैं टालिने सम्भावना एकदमै न्यून हुन्छ । त्यस्तो अवस्थामा शल्यक्रिया नै गर्नुपर्छ ।

कानको जाली फाटेपछि संक्रमणको जोखिम कति हुन्छ ?

कानको जाली फाटेपछि संक्रमणको जोखिम धेरै हुन्छ । पटकपटक संक्रमणको कारण कानको जाली फाट्ने र कानको जाली फाटेपछि कानको भित्रसम्म संक्रमणको जोखिम बढ्छ ।

कानको जाली टाल्नुपर्छ वा यत्तिकै छाड्दा पनि हुन्छ ?

पटकपटक कानमा संक्रमण भएका कारण कानको जाली फाटेको हो भने जाली आफैं टालिंदैन त्यसलाई टाल्नुपर्छ । चोटपटकको कारण जाली फाटेको हो भने यत्तिकै छाड्दा पनि हुन्छ त्यो बिस्तारै आफैं टालिन्छ ।

कानको जाली टाल्न कस्तो उपचार गर्नुपर्छ ?

कानको जाली टाल्न एक मात्र उपचार विधि भनेको शल्यक्रियाद्वारा कानको जाली टाल्ने हो । औषधिको सेवनबाट यसको उपचार सम्भव हुँदैन ।

कानको जाली टाल्ने शल्यक्रिया कति जोखिमपूर्ण हुन्छ ? यसको अवधि कति लाग्छ ?

कानको जाली टाल्ने शल्यक्रिया दुई किसिमले हुन्छ । कानको जाली फाटेको छ भने जाली टाल्ने साधारण शल्यक्रिया धेरै जोखिमपूर्ण हुँदैन । यो शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पनि नबनाई कानको जाली टालेर त्यही दिन घर पठाउन सकिन्छ ।

संक्रमणको कारण कानको जालीसँगै हड्डी खिइएको, कुहिएको छ भने हड्डी निकालेर जाली राख्ने यो अलि जोखिमपूर्ण हुन्छ । तर समयको कुरा गर्दा दुवै शल्यक्रिया यति नै समय लाग्छ भनेर भन्न सकिँदैन । शल्यक्रिया गर्ने विधि, डाक्टर र बिरामीको जटिलता अनुसार फरक समय लाग्न सक्छ ।

कानको जालीको शल्यक्रिया गरिएन भने त्यसको असर के के हुन सक्छ ?

कानको जालीको शल्यक्रिया समयमा गरिएन भने त्यसको जटिलता बढ्दै जान्छ । सुन्ने क्षमता कम हुँदै जान्छ । कानको जाली फाटेको कारण कानमा संक्रमण बढ्दै गएर मस्तिष्कसम्म नै संक्रमण पुग्ने हुन सक्छ । साथै मस्तिष्कमा पिप जम्ने, मुख बाङ्गो हुनेदेखि लिएर सुन्ने क्षमता पूरै हराउने पनि हुन्छ ।

कानको जाली जोगाउन के गर्नुपर्छ ?

कानको जाली जोगाउन कानलाई हरसम्भव सुख्खा र सफा राख्ने, रुघाखोकी लागेको बेला नाक बेस्सरी सींसीं नगर्ने, कान सफा गर्नका लागि तिखो चीज प्रयोग नगर्ने, कानमा तेल नहाल्ने गर्नुपर्छ ।

यस्तै बच्चालाई दूध खुवाउँदा सुताएर नखुवाउने, कोल्टे पारेर अलि माथि उठाएर मात्र खुवाउने गर्नुपर्छ । चर्को ध्वनिबाट बच्ने, कानलाई चोटपटक लाग्नबाट बचाउने, कानमा कुनै पनि प्रकारको संक्रमण देखियो भने तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

अनलाइन खबर

प्रतिक्रिया दिनुहोस !