चितवन: बैंकले व्याज बढाउँदा धरासायी बन्दै व्यवसाय
चितवनः बैंकले व्याजदर बढाउँदा जिल्लामा रहेका व्यवसायीक क्षेत्र धरासायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यवसायीक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अबस्थामा पुगेको व्यवसायीहरु बताउँछन् ।
दुई बर्ष अघि कम्तिमा ७ प्रतिशत देखि बढिमा १२ प्रतिशत सम्म व्यवसायीक क्षेत्रको व्याजदर रहेकोमा अहिले यो बढेर १२ देखि १७ प्रतिशत सम्म पुगेको छ । यसले गर्दा व्यवसायीहरु पलायन हुने अबस्थामा पुगेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताउनुभयो ।
क्षेत्रीय होटल संघ सौराहाका पूर्ब अध्यक्ष समेत रहनु भएका घिमिरे बैंकले व्याज बढाउँदा त्यो हिसाबले व्यवसाय गर्न सक्ने अबस्था नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “व्यापार गरेर कमाएर व्याज तिर्न सक्ने अबस्था अहिले छैन ।” व्यवासयीक रुपमा हेर्दा पर्यटन क्षेत्रमा बैंकहरुले वढाएको व्याज दर सान्दर्भिक नभएको उहाँको भनाई छ । राज्यले यस बिषयमा नसोच्ने हो भने बैंकबाट ऋण लिएर व्यवसाय गर्न कठिन हुने अबस्था आएको उहाँले बताउनुभयो । सरकारले लगानीमा सहुलियत दिनुपर्ने उहाँको भनाई छ । उहाँले थप्नुभयो “अहिले जिल्लामा रहेको पर्यटन व्यवसाय धरासाही हुने अबस्थामा छ ।” जिल्लामा पर्यटन व्यवसायमा रु १५ अर्ब भन्दा बढी लगानी भएको उहाँले बताउनुभयो ।
तीन वर्ष यता जिल्लाका सबै व्यवसायहरु धरासायी वन्दै गएको उद्योग बाणिज्य संघ चितवनका पूर्ब अध्यक्ष एबं पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराईले बताउनुभयो । कोभिड सुरु भए देखि यताको समय व्यवसायीक क्षेत्र नराम्रो सग गिजोलिएको उहाँको भनाई छ । पोल्ट्री क्षेत्रमा चितवन र नवलपुरमा मात्रै बंैकिङ् क्षेत्रको लगानी रु १० देखि १२ अर्ब रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बैंकिङ क्षेत्रले व्याजदर वृद्धि गर्दा ८० प्रतिशत पोल्ट्री व्यवसायी बन्द हुने अबस्थामा पुगेको छ ।” पोल्ट्रीको राजधानीको रुपमा चिनिएको चितवनमा अहिले कतिपय व्यवसायीले जग्गा बिक्रि गरेर बैंकको ऋण तिर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । राज्यको तर्फबाट बैंक व्याजदर घटाउन पहल नहुने वा सहुलियतामा व्याज नदीने हो भने पोल्ट्री व्यवसाय मात्रै नभएर अन्य व्यवसायी पनि पलायन हुने अबस्था आउने भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो “बैंकले मात्रै कमाउने नीतिका साथ अघि वढ्दा अन्य व्यवसायी मारमा परेका छन् ।” राज्यले नीतिमानै परिवर्तन गरेर व्यवसाय बचाउन लाग्नु पर्नै उहाँको भनाई छ ।
उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेलले व्याजदरका कारण व्यबसाय धरासाही बन्दै गएको बताउनुभयो । बैंकको असहजताले असोज पछि कतिपय व्यवसाय बन्द हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “नियमन कारी निकायको उदाशिनताका कारण समस्या आएको हो ।”राष्ट्रबैंकले पहिलाको अबस्थामा व्याजदर ल्याउन नसके जिल्लाका ५० प्रतिशत व्यवसायी धरासायी बन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले व्यवसायीलाई चिठ्ठि काट्ने, ताकेता गर्ने गर्दा व्यवसायी हत्तोत्साहीत हुने गरेका छन् ।” उत्पादीत बस्तुको मूल्यमा बृद्धि हुनु र उभपोक्ताको क्रयशक्ति कम हुनुले समेत यसमा असर देखिएको उहाँको भनाई थियो । व्यवसायीक क्षेत्रमा देखिएको समस्या समाधानका लागि राष्ट्रबैंकले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । बैंकको व्याजदरका कारण पुराना व्यवसाय बन्द हुने र नयाँ व्यवसाय सञ्चालनमा आउन नसक्ने अबस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंकले व्याज बढाउँदा हरेक क्षेत्रको मूल्य बृद्धि भएको बताउनुभयो । व्याजदरले चालु पूंजी र लगानीको पूंजीमा समेत असर गरेकाले बजारमा उपभोग्य बस्तुको मूल्य बृद्धि भएको बताउनुभयो । बैंकको व्याजदर बृद्धि हुँदा व्यवसाय बन्द हुने अबस्थामा मात्रै नपुगेर अर्थतन्त्रमा समेत प्रभाव पारेको उहाँको भनाई छ । राज्यले बैंक नाफामा जानुपर्छ भन्ने नीति लिएका कारण सबै व्यवसायीक क्षेत्रमा नकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो । व्याजदर घटाउने बिषयमा उद्योग बाणिज्य महासंघ मार्फत सरकार संग समन्वय गरिएको बताउनुभयाे ।






