चितवनः भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा ६ दशकपछि नयाँ भवनबाट शुरु भएको छ । अस्पतालले बि.सं. २०२० सालमा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट शुरु भएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार पुरानो र जीर्ण भवनबाट सञ्चालन हुँदै आएको सेवा नयाँ भवनबाट शुरु गरिएको छे । हाल २० शैयाबाट शुरु भएको नयाँ भवनको सेवा केही समयपछि नै ५० शैयामा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, सामान्य शल्यक्रिया कक्ष सहितको सेवा हुने उहाँको भनाई छ । यी सेवा पूर्ण रुपमा सञ्चालन गर्न भने एक दुई महिना लाग्ने प्रा.डा.पौडेलको भनाई छ । नयाँ भवनको माथि दुई तल थप्ने अस्पतालको तयारी छ । दुई तला थप गरेपछि ट्रमा सेन्टर समेत सोही भवनमा सञ्चालन गरिने छ । स्वास्थ्य मन्त्रालयले रु. ७ करोड लागतमा एक तले भवन बनाएको हो । अस्पतालले दुई तला थप गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । मेसु पौडेलले भन्नुभयो “तला थप गर्न मन्त्रालयमा पुनः बजेट माग गर्ने तयारीमा छौं ।”

विगतमा १२ शैया सञ्चालन हुँदै आएको पुरानो आकस्मिक कक्ष गत वर्षदेखि २० शैया पु¥याईएको थियो । सोही २० शैयालाई हाल नयाँ भवनमा सारिएको हो । नयाँ भवनमा पर्याप्त ठाउँ भएकाले उपचारमा सहज हुने छ ।

नयाँ भवनको आकस्मिक सेवा पूर्णरुपमा सञ्चालन आएसँगै शैया अभावमा बिरामी बाहिर पठाउनु पर्ने बाध्यताको अन्त्य हुने पौडेलले बताउनुभयो । अस्पतालको तथ्यांक अनुसार वार्षिक झण्डै एक लाखको हाराहारीमा आकस्मिक कक्षमा बिरामी आउने गर्छन् । बि.सं. २०१३ सालमा महेन्द्र आदर्श चिकित्सकलयको नामबाट स्थापना भएको अस्पताल हाल संघीय अस्पतालका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !