चितवनः पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले चुनावमा गठबन्धनले असर नगर्ने दाबी गर्नुभएको छ । चितवनका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले दलहरुले गरेको गठबन्धनभन्दा विकास गर्ने नेता जिताउन जनताले तालमेल गर्ने बताउनुभयो । “दलको गठबन्धन, तालमेलले केहि गर्दैन”, उहाँले भन्नुभयो, “ बरु जनता जनताबीच तालमेल हुन्छ, विकासवादी व्यक्तिलाई विजयी गराउनुहुन्छ भन्ने विश्वास छ ।” गठबन्धनले सैद्धान्तिक राजनीतिलाई धरासायी बनाएको टिप्पणी गर्नुभयो । पाण्डेले चितवन–३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।
२०७४ को चुनावमा भाषणमा जनता बहकाउमा लागेपनि यसपाली जनताले स्वतन्त्र भएर मतदान गर्ने बताउनुभयो । “गठबन्धनमा जनताको चासो छैन, जनता स्वतन्त्र छन्”, उहाँले भन्नुभयो, “२०७४ मा बहकाउमा लाग्दा विकासहरु अवरुद्ध भए, अब जनता आँफैले तालमेल गरेर विकासवादी नेता जिताउँछन् ।” चितवन–३ छाडेर गोर्खा–२ मा प्रचण्ड गएको घटनालाई इंगित गर्दै उहाँले भन्नुभयो, “जनताकासँग गरेका प्रतिवद्धता पुरा नभएपछि ठाउँ छाडेर जानुको अर्को विकल्प के हुन्थ्यो रु” पूर्वमन्त्री पाण्डेले प्रचण्ड चितवन–३ कै उम्मेदवार बनेको भएपनि चुनाव जित्न कठिन नभएको तर्क गर्नुभयो ।
“उहाँ बस्दा या जादा मलाई कुनै अप्ठ्यारो छैन”, उहाँले भन्नुभयो, “ठाउँ, थर परिर्वन गरेर कहि हिड्ने छैन, जीवनकालसम्म यही ठाउँको सेवा गर्ने लक्ष्य छ ।” २०५६ देखि लगातार एउटै निर्वाचन क्षेत्रबाट ४ पटक चुनावमा उठिसकेकाले जनताका समस्याबारे जानकार रहेको बताउनुभयो । “चितवन–३ मा मोडेल प्रोजेक्टहरु ल्याएर देशकै विकासको नमुना क्षेत्र बनाउने लक्ष्य लिएको छु”, उहाँले भन्नुभयो, “पार्टी ठुलो बनाउन, राजनीति गर्न आएको होइन, विकास कसरी गर्न देखाउन आएको हुँ ।”
माडीमा निर्माणाधिन पुलहरु आँफु सांसद हुदानै टेण्डर भएको बताउँदै माडी रिंगरोड, रिउ कोरिडोर लगायतका योजनाहरु पुरा गर्न लाग्ने बताउनुभयो । “विकास छिटो गर्ने को रहेट २०७० साललेनै पुष्टी गरिसकेको छ”, उहाँले भन्नुभयो, “धेरैलाई जनताले परीक्षण गरिसके, अब मेरो विकल्प छैन ।” चुनावका बेला आश्वासन बाँडेर भाग्ने नेता नभएको जीकिर गर्नुभयो ।






