चितवनः यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा १२२ जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ । जिल्लाका ३ संघीय निर्वाचन क्षेत्र र ६ प्रदेश क्षेत्रका लागि उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै प्रदेश सभा निर्वाचनका लागी प्रदेश १ (क)मा ११ जना र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागी सत्ता गठवन्धनका तर्फबाट योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेकपा एमालेका तर्फबाट पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो । पौडेलले योजना आयोगबाट राजिनामा दिएर उम्मेदवारी दर्ता गराउनु भएको हो भने पाण्डेले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराउनु भएको हो । पाण्डे आमाको किरियामा रहेका कारण उहाँका निजी सचिब सञ्जीप पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
यस्तै राप्रपाबाट मधुप कुमार भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएको हो । यस्तै प्रदेश सभाका लागि क्षेत्र नम्बर १ (क)मा ११ जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ । सत्ता गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापती किरण ओली, नेकपा एमालेका तर्फबाट जगन्नाथ थपलिया र राप्रपाका तर्फबाट रामहरी कडेंलले उम्मेदवारी दर्ता गर्नु भएको छ । १ (ख)मा १२ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्बाचन अधिकृत नविनराज रुवालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश क्षेत्र नम्बर १ (ख)मा सत्ता गठवन्धनका तर्फबाट नेकपा समाजबादीका नेता तथा बागमती प्रदेशका मन्त्री कृष्ण प्रसाद शर्मा खनाल, नेकपा एमालेका तर्फबाट नेकपा एमाले चितवनका सचिब प्रकाश खनाल, राप्रपाका क्षेत्रीय अध्यक्ष बलराम खनालले उम्मेदवारी दिनुभएको हो ।
यस्तै चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरु मध्ये सत्ता गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, नेकपा एमालेका कृष्णभक्त पोख्रेल, राप्रपाका तर्फबाट रविन अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै राष्ट्रिय स्वातन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समेत चितवन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । क्षेत्र नम्बर २ (क)मा सत्ता गठवन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता एबं बागमती प्रदेशका मन्त्री घनश्याम दाहाल, नेकपा एमालेका तर्फबाट कृष्ण प्रसाद सिलवाल, राप्रपाका रुक्माङ्गत पोख्रेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस प्रदेश सभा क्षेत्रमा ८ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै २ (ख) मा १४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो । सत्ता गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता उत्तम जोशी, नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञावाली, राप्रपाका जगदीश्वर अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको कार्यालयले जनाएको छ ।
चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि २१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठवन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डा. भोजराज अधिकारी, नेकपा एमालेका राम प्रसाद न्यौपाने र राप्रपाका केन्द्रीय उपाध्यक्ष बिक्रम पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो । यस क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरउनुभएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (क)मा सत्ता गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता एबं कृषि तथा वन विज्ञान विश्व विद्यालयका संस्थापक रजिष्टार प्रा. डा. सुर्यकान्त घिमिरे, नेकपा एमालेका तर्फबाट कृष्ण प्रसाद भूर्तेल र राप्रपाका गिरबहादुर तामाङ्ले उम्मेदवारी दर्ता गर्नु भएको सहायक निर्बाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । यस प्रदेशमा ८ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै प्रदेश सभा क्षेत्र नम्बर ३(ख)मा सत्ता गठवन्धनका तर्फबाट माओवादी केन्द्रका ठाकुर ढकाल, नेकपा एमालेकी नेतृ सरस्वती बिष्ट र राप्रपाकी सह–महामन्त्री रिना गुरुङ्ले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस क्षेत्रमा ९ जनाको उम्मेदवारी दर्ता भएको कार्यालयले जनाएको छ ।
जिल्लामा हाल ४ लाख ८ हजार ३४२ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ८४५ जना, क्षेत्र नम्बर २ मा १ लाख २४ हजार २१४ जना र क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २८३ जना मतदाता रहेको जिल्ला निर्बाचन कार्यालय चितवनले जनाएको छ । जिल्लामा १६२ मतदान स्थल र ४६० मतदान केन्द्र रहेने छन् ।






