चितवनः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृह क्षेत्र चितवन क्षेत्र नं. ३ मा गठबन्धनका तर्फबाट नयाँ युवा अनुहार डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रले उहाँलाई टिकट दिएको हो ।

अध्यक्ष दाहाल यही क्षेत्रबाट उम्मेदवार बन्ने चर्चाबीच उहाँ गोरखा क्षेत्र नं. २ मा जाने भएपछि सो ठाउँमा अधिकारीलाई टिकट दिईएको हो । सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ ।

बि.सं. २०७४ को चुनावमा माओवादी अध्यक्ष दाहालले सोही क्षेत्रबाट निर्वाचन जित्नु भएको थियो । अधिकारी संघीय अस्पताल भरतपुर अस्पतालको अध्यक्ष हुनुहुन्छ । उहाँले आजै राजीनामा दिएर उम्मेदवारी दिने बताउनु भएको छ ।

अधिकारी यस अघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्ष रहेर काम गरिसक्नु भएको छ । फिजिसियन डा. अधिकारी भरतपुर अस्पताल र पुष्पाञ्जली अस्पतालमा रहेर बिरामीको सेवा गर्दै आउनु भएको छ । हाल उहाँ माओवादी पार्टीको स्वास्थ्य जनसंख्या विभागको केन्द्रीय सचिव हुनुहुन्छ । उहाँले नेपाल चिकित्सक संघमा रहेर काम गरिसक्नु भएको छ ।

बि.सं. २०३६ साल फागुन १२ गते चितवनकै कुरिनटारमा जन्मिनु भएका अधिकारीको मूल घर सोही क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीमा छ । अधिकारीलाई साझा चरित्रको व्यक्तिका रुपमा लिने गरिन्छ । उहाँ यस क्षेत्रको चर्चित चिकित्सक हो । क्षेत्र नं. ३ मा मात्रै उहाँसँग नियमित स्वास्थ्य परीक्षण गराउने ६ हजार बिरामी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !