चितवनः भरतपुरको शारदानगरमा असोज २५ गतेदेखि सेन्ट्रल कलेज खुल्ला नकआउट भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय श्री नवज्योति मगर युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । २८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शारदानगर माविको मैदानमा हुनेछ ।

प्रतियोगितामा चितवन, नवलपुर र गोरखाका दश टिम सहभागी हुने कार्यक्रम संयोजक देउकुमार थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजकको दुई टोलीसहित चितवनबाट भरतपुर भलिबल ट्रेनिङ सेन्टर, दिव्यनगर युवा क्लव, थारु समाज मेघौली, सिर्जनशिल युवा समाज र जागृती युवा क्लव भरतपुर सहभागी हुनेछन् ।
यस्तै गोरखाको लाङघाली समाज गोरखा, नवलपुरको नवलपुर मगर समाज र नवलपुर युनाइटेड भेडावारी सहभागी हुनेछन् । उद्घाटन खेलमा आयोजक नवज्योति मगर युवा क्लब ‘बी’ र सिर्जनशिल युवा समाज भिड्नेछन् । खेल दिउँसो २ बजे हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजारसहित ट्रफी प्राप्त गर्ने उहाँले बताउनुभयो । यस्तै तेस्रो हुनेमा १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेल खेलेका खेलाडीहरु सहभागी हुन नपाउने कार्यक्रम संयोजक मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !