चितवनः दशैंको विदामा यहाँका अस्पतालहरुले सेवालाई नियमित गर्ने भएका छन् । प्रायः अस्पतालहरुले बहिरंग बाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । केही अस्पतालले भने दशैंको टीकाको दिन बाहेक अन्य दिनमा बहिरंग सेवा समेत नियमित सञ्चालन गर्दैछन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले बहिरंग सेवा बाहेकका अन्य सबै सेवा नियमित सञ्चालन हुने बताउनुभयो । बहिरंगको अत्यावश्यक खोप, ड्रेसिङ लगायतका सेवाहरु भने टीकाको दिन बाहेक अन्य दिन सञ्चालन हुने उहाँको भनाई छ । सोका लागि हरेक दिन बिहान ९ बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुने व्यवस्था मिलाईएको छ ।

यस बाहेकका अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालनमा आउने छन् । पौडेलका अनुसार प्रसुती लगायतका विभागहरुमा विशेषज्ञ चिकित्सकहरुले पालो मिलाएर सेवा दिने छन् ।

चितवन मेडिकल कलेजले टीकाको दिन बाहेक अन्य दिनमा बहिरंग सेवा समेत दिने भएको छ । कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार टीकाको दिनमा बहिरंग सेवा हुँदैन भने अन्य सबै सेवा सो दिनमा पनि सञ्चालन हुनेछन् ।

फूलपातीको दिनबाट टीकाको भोलिपल्टसम्म बहिरंग सेवा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो । सबै विभागमा विशेषज्ञ चिकित्सकहरुले पालो मिलाएर सेवा दिने उहाँको भनाई छ । दशैंको समयमा दुर्घटनाका बिरामी बढी आउने भएकाले मेडिकल कलेजले आकस्मिक र ट्रमा सेन्टरमा विशेष व्यवस्था गरेको छ ।

कलेज अफ मेडिकल साईसेन्स शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का उपनिर्देशक डा.राजेश यादवका अनुसार बहिरंग बाहेकका सबै सेवा दशैं विदाभर पनि सञ्चालन हुनेछन् । फूलपातीको दिनदेखि टीकाको भोलिपल्टसम्म बहिरंग सेवा बन्द भएपनि आकस्मिक सेवाबाट बिरामीलाई उपचार व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो “बहिरंग बाहेक अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालन हुन्छन् ।”

यस्तै निजी केही अस्पतालहरुले दशैंको बेलामा उपचारको विशेष व्यवस्था गरेका छन् । मौलाकालिका अस्पतालले टीकाको दिनको टीका लगाउने समय बाहेक अन्य समयमा पूर्ववत् अवस्थामा सबै सेवा दिने जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक डा. केशव भूर्तेलका अनुसार चिकित्सकहरुले पालो मिलाएर उपचार सेवा दिने व्यवस्था मिलाईएको छ । उहाँका अनुसार अधिकांश विभागमा तीन जना विशेषज्ञ चिकित्सक र धेरै स्थानीय भएकाले सेवा रोक्न नपरेको हो ।

भरतपुर आँखा आकस्मिक सेवा सञ्चालन गर्ने जनाएको छ । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार आँखामा चोटपटक, धुलो लगायतबाट हुने चोटको आकस्मिक उपचार गर्नु परेमा अस्पतालले सेवा दिनेछ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक र अन्तरंग सेवा सञ्चालनमा रहने छन् । सूचना अधिकारी जिएन महतोका अनुसार अन्य विभागले दशैंँ विदा अघि र पछि सेवा दिने गरी तालिका बनाएर उपचार व्यवस्था गरेका छन् ।

जिल्लामा विदाको समयमा समेत उपचार हुने भएपछि छिमेकी जिल्लाहरुबाट समेत उपचारका लागि आउने गर्दछन् । राजधानी बाहिर सबै खालका उपचारका लागि देशैभरबाट यहाँ बिरामी आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !