चितवनः जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुवाहक सवारी साधनमा आजदेखि टाइमकार्ड लागू गरिएको छ । तीब्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले टाईमकार्ड लागू गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार तीब्र गतिमा चल्ने यात्रुबहाक बस, मिनिबस, माइक्रो र ट्रिपरबाट हुने दुर्घटना न्यूनिकरणका लागि टाइमकार्ड लागू गरिएको हो । टाइमकार्ड पाँच स्थानबाट कार्यान्वयनमा ल्याईने उहाँले जानकारी दिनुभयो । लोथर, गोन्द्राङ्, आँपटारी, मुग्लिन र मैवाखोलाबाट टाइमकार्ड कार्यान्वयनमा ल्याउन लागिएको हो । जिल्लामा पर्ने नारायणगढ–मुग्लिन सडक खण्ड सहित ९३ किलोमिटर राजमार्गमा प्रतिघण्टा ४० किलोमिटरका दरले टाइमकार्ड कार्यान्वयनमा ल्याईएको हो ।

लोथरदेखि गोन्द्राङ्सम्मको ३० किलोमिटरका लागि ५० मिनेट, गोन्द्राङ्बाट आँपटारी ७ किलोमिटरका लागि १० मिनेट, आँपटारीदेखि मुग्लिन ३४ किलोमिटरका लागि १ घण्टा, गोन्द्राङ्बाट मुग्लिन ४१ किलोमिटरका लागि १ घण्टा ५ मिनेट र मुग्लिनदेखि मौवाखोलासम्मको १६ किलोमिटरका लागि २५ मिनेटको समय राखिएको अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हरेक स्थानमा चेकपोष्ट रहने छ । त्यहाँ गएर इन्ट्रि गरेर मात्रै सवारी साधनलाई अघि वढ्न दिईने छ ।” तोकिएको समय भन्दा छिटो आउने सवारी साधनलाई कारवाही गरिने उहाँले जानकारी दिनुभयो । सवारी साधन लापरवाही गरी चलाएकोमा कारवाही हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “टाइमकार्ड लागू भएसँगै राजमार्गमा हुने सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बिश्वास लिएका छौ ।” टाईमकार्डको आज लोथरबाट शुभारम्भ गरिएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !