चितवनः भरतपुर महानगरपालिकाका शहरी क्षेत्रमा ढल निकासको समस्या देखिएपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले रु.२ अर्बभन्दा बढीको लगानीमा ढल निर्माणको काम गर्ने भएको छ । यससँगै खानेपानी व्यवस्थापन, शौचालयबाट निस्केको फोहोर व्यवस्थापन, ढल व्यवस्थापनको काम गर्न लागिएको हो ।

विभागको एकीकृत खानेपानी तथा सरसफाई आयोजनाले कामका लागि विस्तृत अध्ययन प्रतिवेदनको काम गरिरहेको छ । देशका १२ शहरमा ढल व्यवस्थापनको काम गर्ने तयारी छ । ती मध्ये पाँच शहरलाई पहिलो चरणमा राखिएको छ । ती मध्ये पनि भरतपुर महानगरपालिकाको कामलाई तीब्र रुपमा अघि बढाईएको विभागको शहरी खानेपानी तथा सरसफाई आयोजनाका निर्देशक रत्नप्रसाद लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार आउँदो असारसम्ममा विस्तृत अध्ययन प्रतिवेदनको काम सम्पन्न गरी बोलपत्र आव्हान गर्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो “हामी आगामी असारसम्ममा बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाएका छौं । ढिलो भए पनि आउँदो वर्षको यतिबेलासम्म बोलपत्र भईसक्छ ।” दुईदेखि तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १ देखि १२ सम्मका वडामा पहिलो चरणमा यो परियोजना शुरु गरिंदै छ । ती वडा मध्येपनि शहरी क्षेत्रमा आकाशे वर्षाको पानी व्यवस्थापन हुन नसक्दा ठूलो पानी परे संगै सडक जलमंग्न हुने गर्दछर्न । धेरै सडक कालोपत्रे भएको भए पनि ढल बनि नसक्दा आकाशको पानी व्यवस्थापन जटिल समस्या बन्दै आएको छ । लामिछानेका अनुसार वर्षात्को पानीको व्यवस्थापन मुख्य काममा राखिएको छ । ढल निकास मार्फत् पानी जम्न नपाउने गरी व्यवस्थापन गरिने छ । शौचालयबाट निकालिएको फोहोरलाई प्रशोधन गरी पानी नदीमा मल बारीमा प्रयोग गर्ने तयारी गरिएको छ । यसैगरी ढलमा बगेको पानीलाई सोझै नदीमा नमिसाई प्रशोधन गरिने उहाँले बताउनुभयो ।

खानेपानी नपुगेका ठाउँमा पानी पु¥याईने छ भने भईरहेका ठाउँमा स्तरोन्नती गरिने छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा काम गर्न लागिएको हो । लामिछानेको भनाईमा प्रमुख शहरहरुमा रु.१ अर्ब ५० करोडदेखि २ अर्बसम्मको योजना तय गरिएको भए पनि भरतपुरका मुख्य शहरी क्षेत्रमा धेरै काम गर्नुपर्ने भएकाले २ अर्बभन्दा बढीको योजना बन्ने अनुमान गरिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले शहरी क्षेत्रमा वर्षात्को पानी जम्ने समस्या जटिल बनेको र खर्चिलो हुने भएकाले संघीय सरकारलाई गरिएको निरन्तर आग्रहपछि पहिलो चरणमा काम भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “अझै एक दुई वर्ष दुःख भएपनि सधैंका लागि समाधान गर्ने गरी काम हुँदैछ ।” मुख्य रुपमा शहरी क्षेत्रमा डुवान र ढल सोझै नदीमा मिसाउनु पर्ने बाध्यताको अन्त्य हुने गरी सुन्दर शहर बनाउन यो योजना महत्वपूर्ण हुने उहाँको भनाई छ ।

भरतपुर महानगरपालिकामा प्रमुख डिभिजन ईञ्जिनियर भएर अनुभव संगाल्नु भएका लामिछाने अहिले विभागमा रहनु भएकाले यहाँको वस्तुस्थितिका बारेमा पूर्ण ज्ञान भएकाले काम गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !