चितवनः नेपाल कमयुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँफु प्रधानमन्त्रीको रेसमा नरहेको बताउनु भएको छ । प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आँफु प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र संबिधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।
आर्थिक बिकास र सम्बृद्धि आफ्नो प्राथमिकता भएको भन्दै उहाँले भन्नुभयो “चाहेको भए बि. सं. २०७४ को निर्वाचन पछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो । त्यो होईन अहिले पनि छ ।”प्रधानमन्त्री मुख्य होईन भन्दै उहाँले राजनैतिक स्थिरता, लोकतन्त्रको सुदृढिकरण, आर्थिक बिकासको बाताबरण बनाउने र आँफुलाई त्यसका निम्ती समर्पित गर्ने प्रतिबद्धता रहेको बताउनु भयो ।
अबको दशक सम्बृद्धिको दशक भएको भन्दै उहाँले अबको क्रान्ति आर्थिक क्रान्ति हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो “जीवनको उत्तरार्धको बाँकी समय आर्थिक सम्बृद्धि र क्रान्तिका लागि लाग्छु ।” अरबौंका परियोजना कसरी नेपाल ल्याउन सकिन्छ र हामीकहाँ भएको प्राकृतिक साधन स्रोतको सही उपयोग गर्न सकिन्छ भन्नेमा आँफ्नो ध्यान रहेको बताउनुभयो । उहाँले भन्नुभयो “एउटा नयाँ क्रान्ति समाजबादका निम्ति, सामाजिक न्यायका लागि गर्ने परिकल्पान गरिएको छ ।”
लोकतन्त्रको रक्षा र सम्बृद्धिका लागि प्रेस स्वतन्त्रता अनिबार्य सर्त भएको भन्दै उहाँले यस मान्यतालाई आत्मसाथ गर्दै संबिधानमा लिपिबद्ध गरिएको बताउनुभयो । उहाँले देशमा राष्ट्रको एकताको पक्षमा र बिभाजनकारी पक्षका बिरुद्धमा लाग्न पत्रकारहरुलाई सफलता मिलोस भनेर शुभकामना पनि दिनुभयो । उहाँले भन्नुभयो “यो संबिधानको र संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षामा तपाईहरुको पहल कदमी बढोस् ।”
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ पत्रकारका लागि कल्याणकारी कोष, नेपाल पत्रकार महासंघको भौतिक पूर्बाधारमा सहयोग,तालिम केन्द्रका लागि जमिन, लोक कल्याणकारी बिज्ञापन, लेखन बृद्धिका लागि बजेट लगाएतमा महानगरले सहकार्य गरेको बताउनुभयो । सोही अबसरमा नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेपाल कम्युनिष्ट पार्टी समाजबादी चितवनका उपाध्यक्ष अरुणपिडित भण्डारी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।






