चितवनः नेपाल विद्यार्थी संघ चितवनले भरतपुर महानगरपालिका भित्रका संस्थागत विद्यालयहरुले शुल्क बृद्धि गर्ने गरि गरेको निर्णयको बिरोध जनाएको छ । आज एक बिज्ञप्ति जारी गर्दै नेबिसंघले २० प्रतिशत शुल्कवृद्धिको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको हो । बिज्ञप्तिमा भनिएको छ “निर्णय फिर्ता लिन ४८ घण्टा समय दिन्छौ ।”
नेविसंघ चितवनका कार्यबाहक जिल्ला अध्यक्ष राजन दाहाल र सचिव गणेश रिजालद्धारा जारी बिज्ञप्तीमा ४८ घण्टा भित्र शुल्कवृद्धिको निर्णय खारेज गर्न चेतावनी दिउको हो । नेविसंघले महानगरपालिका, स्थानीय प्रशासन तथा संस्थागत विद्यालयहरुलाई यस्तो चेतावनी दिएको हो ।
कोभिड १९ को प्रभाव, अन्तराष्ट्रिय रुपमा देखिएको आर्थिक मन्दी र मूल्यवृद्धिकोले आम जनता मारमा परेको अवस्थामा असोज १ गतेदेखि लागू हुने गरी गरिएको शुल्कवृद्धिको निर्णय आपत्तिजनक रहेको विज्ञप्तिमा जनाइएको छ ।
नेविसंघले शुल्कवृद्धि मात्रै गर्ने र गरिब आम निमुखा जनताको ढाड सेक्ने गरी निजी विद्यालयहरुले व्यापार केन्द्रित रवैया प्रवृद्धि देखाएको भन्दै भर्त्सना गरेको छ । “निरन्तर शुल्कवृद्धि मात्रै गर्ने र गरिब आम निमुखा जनताको ढाड सेक्ने गरी निजी संस्थागत विद्यलायहरुको व्यापार केन्द्रित रवैया प्रवृद्धिको हामी घोर भर्त्सना गर्दछौं । साथै उक्त शुल्कवृद्धिको निर्णयलाई ४८ घण्टा भित्र खारेज गर्न सम्बन्धित निकाय, प्रशासनलाई चेतावनी दिन चाहन्छौं”, विज्ञप्तिमा भनिएको छ । शुल्कवृद्धिको निर्णय खारेज नभए नेविसंघ प्रशासन विरुद्ध उत्रिन वाध्य हुने चेतावनी समेत दिईएको छ ।





