चितवनः नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य नारायण प्रसाद दाहालले वर्तमान असहज परिस्थितिको उपज राष्ट्रपति विद्यादेबी भण्डारी भएको आरोप लगाउनु भएको छ । पार्टी निकट बुद्धिजीवीहरुको संगठन नेपाल बुद्धिजीवी संगठन भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको एक विशेष कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो ।
दाहालले राष्ट्रपतिले संविधानको गम्भीर उलंघन गरेको आरोप मात्र लगाउनु भएन की केपी ओलीको दोस्रो संकरण भएको समेत आरोप लगाउनुभयो । नागरिकता ऐन २०६३ को संसोधनको लागि बनेको विधेयकमा भएका केही विषयमा आफुहरुको समेत सहमति नभएको भनाई राख्दै सहमत हुनु र नहुनु भन्दा पनि दुबै संसदले पारित गरेर पठाएको विधेयक रोक्नुगैर संवैधानिक कार्य भएको उहाँको टिप्पणी थियो । पछिल्लो घटनाबाट प्रतिगमनले टाउको उठाउँदै गरेको अभिव्यक्ति दिंदै दाहालले पार्टी अध्यक्ष प्रचण्डको भनाई सापट लिँदै भन्नुभएको थियो, “पार्टी अध्यक्षले पटकपटक भन्दै आउनु भएको विषय हो प्रतिगमनले टाउको उठाउँदै छ । जुनसुकै बेला जे पनि हुन सक्छ । त्यसको समना र प्रतिवाद गर्ने तयारी गर्नु पर्छ ।”
प्रतिक्रियावादीहरु प्रचण्डलाई कमजोर बनाउन सकियो भने माओवादी आन्दोलन कमजोर बनाउन सकिन्छ भनेर हरतरहले लागेको बताउनुभयो । वर्तमानको उपलब्धी माओवादी आन्दोलनको उपज भएको र देश माओवादीकै एजेण्डामा हिडिरहेको उहाँको दाबी थियो । एक अर्को प्रसंगमा स्थायी समिति सदस्य दाहालले एक्लाएक्लै चुनावमा जानुपर्ने अवस्था पनि आउन सक्ने भएकाले त्यसको लागि तयार हुन कार्यकर्ता पंतिलाई आह्वान गनुभयो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री घनश्याम दाहालले बौद्धिक समूदाय र बुद्धिजीवीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले माओवादी पार्टीले गरेको जनयुद्ध र विभिन्न खाले हयिार बन्द आन्दोलन अव कलम, विचार र बहसमा परिणत भएको बताउँदै त्यसको महत्वपूर्ण अंग भनेको बुद्धिजीवी संगठन भएको र बुद्धिजीवीमा यस किसिमको जिम्मेवारी थपिएको बताउनु भएको थियो । उहाँले पार्टी, विचार र नेतृत्व लाई सफल बनाउन बुद्धिजीवीनै अग्रमोर्चामा हुनुपर्ने बताउनुभयो ।
नेपाल बुद्धिजीवी संगठन भरतपुर महानगर समितिले वर्तमान परिवेश र बौद्धिक समूदायले निभाउनुपर्ने भूमिकाको विषयमा केन्द्रीत भएर बौद्धिक दर्पण नामको बुलेटिन प्रकाशित गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ आउने भनेर प्रचार गरिएको उक्त कार्यक्रममा स्थायि समिति सदस्य दाहाल प्रमुख अतिथि बनेर पुस्तक विमोचन र कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम महानगर समितिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !