चितवनः यहाँको साईराम डेण्टल केयरले दन्त उपचारमा पछिल्लो पटक विकास भएको अत्याधुनिक उपकरण भित्र्याएको छ । डिजिटल डेण्टल स्क्यानर भित्रिएसँगै उपचारमा सहजता भएको हो ।

नेपालमा भर्खरै भित्रिएको यो प्रविधि उपत्यका बाहिर पहिलो पटक साईरामले भित्र्याएको हो । डेण्डल केयरका सञ्चालक डा. सरु थापा न्यौपानेले डेण्टल स्क्यानरको माध्यमबाट मुखभित्रको सम्पूर्ण अवस्थाको जानकारी कम्प्युटरको स्क्रिनमा थ्रिडी तस्वीरमा हेर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार विगतमा बिरामीको दाँतसम्बन्धी क्राउन, ब्रिज, दाँत राख्ने लगायत जुनसुकै काम गर्नु परेमा हातैले नापो लिनु पर्ने, नापो अनुसार ल्याब (प्रयोगशाला) मा पठाउनु पर्ने हुन्थ्यो । प्रयोगशालाबाट बनेर आएपछि पनि कहिलेकाहीं नमिल्ने जस्ता समस्या हुने भएकाले काम गर्न धेरै झन्झटिलो र गाह्रो हुने गरेको डा. न्यौपानेको भनाई छ ।

उहाँले भन्नुभयो “डिजिटल डेण्टल स्क्यानरले बिरामीलाई एउटै कुर्चीमा राखेर दाँत र मुखको सम्पूर्ण स्क्यान गर्न मिल्छ ।” यो प्रविधिबाट उपचार गर्दा समयको बचत साथै बिरामी र चिकित्सकलाई सहज हुने उहाँको भनाई छ डा. न्यौपानेले थप्नुभयो “दाँत किराले खाएको छ कि छैन ? गिँजाका समस्या के छ ? मुखमा घाँउ खटिरा के छ ? मुखमा क्यान्सर हुने अवस्था छ कि छैन ? भन्ने कुरा कम्प्युटरको स्क्रिनमा हेरेर थाहा हुुन्छ ।”

विगतमा दाँतको नापो लिएर प्रयोगशालामा पठाउनु पर्ने हुँदा एक दुई दिन समय कुर्नु पर्ने भए पनि अब लामो समय कुर्नु नपर्ने डा. न्यौपानेले बताउनुभयो । डा. न्यौपानेले भन्नुभयो “ईमेल मार्फत् प्रयोगशालामा पठाईएको स्क्यान विवरणका आधारमा तत्कालै क्राउन, ब्रिज, दाँत तयार हुन्छ । छोटो समय हुने बिरामीहरुलाई धेरै समय कुर्नु नपर्ने भयो ।”

कुनै बिरामीको दाँत राख्नु पर्ने छ वा दाँतमा कभर राख्नु छ भने पनि सही नापो यसबाट पत्ता लगाउन सकिने उहाँको भनाई छ । बिरामीको ईम्प्लान्ट राख्न पनि हातले गर्दा जोखिम हुने बताउँदै उहाँले स्क्यान डाटाको आधारमा प्लान गरेर बिरामीको मुखमा ईम्प्लान्ट राख्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो “भोलिका दिनमा बिरामीलाई पुनः बोलाउनु पर्ने समस्या पनि हुँदैन । कुनै बिरामी विदेशमै भए पनि उसको कम्प्युटरमा रहेका विवरणका आधारमा दाँत, ब्रिज, क्राउन तयार गर्न सकिन्छ ।”

२१ औं शताब्दीमा डिजिटल डेण्टिस्ट्रि प्रविधि अनिवार्य भईसकेको छ डा. न्यौपानेको भनाई छ । उहाँले भन्नुभयो “बिरामीलाई सहज र सरल तरिकाले सेवा दिन यो प्रविधि अति नै उपयोगी छ ।” अमेरिका युरोप जस्ता देशहरुमा अहिले यही प्रविधिको प्रयोग भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !