चितवनः धानमा बिभिन्न किसिमको रोग देखिए पछि यहाँका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमुना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन आज ज्ञानकेन्द्रमा नमुना लिएर आईपुग्नु भएको थियो । समयमा युरिया र पोटास मलको कमी भएका कारण उहाँको धानमा पहेंले रोग लागेको देखियो ।

उहाँले सुनाउनु भयो “औषधि गर्दागर्दै धान मर्ने हो की भन्ने चिन्ता छ ?” समयमा मल नपाउँदा धानमा समस्या देखिएको भन्दै उहाँले भन्नुभयो “धान लगाउँदा रु २० हजार खर्च आयो । अब रोगले गर्दा लगानी बराबरको धान उत्पादन हुन्छ की हुँदैन भन्नेमा शंका छ ।” उहाँ र आसपासका खेतमा करिब ५ बिगाह क्षेत्रफलको धानमा यो समस्या देखिएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरका किसान दिलबहादुर थापाले एक बिगाहमा लगाएको धान एक रातमा किराले सखाप पारेको बताउनुभयो । आज बिहान उठ्दा धान किराले काटिसकेको उहाँले गुनासो गर्नुभयो । धान पसाउने समयमा बिभिन्न किराहरुका कारण समस्या देखिएको भन्दै उहाँले भन्नुभयो “समस्या समाधान हुनु प¥यो । नत्र हामी किसान मर्कामा पर्छौं ।”

किसानको बारीमा अहिलेको धानमा सित व्लाइट (पातको फेद डडुवा), नेक व्लाष्ट (घाँटी मरुवा), ह्वाइट फ्लाइ(सेतो झिङ्गा), युरिया र पोटासको कमीका कारण पहेँलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको कृषि ज्ञानकेन्द्र चितवनले जनाएको छ । ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार अहिले ज्ञानकेन्द्रमा दैनिक १० जना हाराहारी किसान समस्या लिएर आउने गरेका छन् । उहाँका अनुसार जिल्लाका सातै पालिकामा यो समस्या देखिएको छ ।

धान खेती गरिएको २२ हजार ९७७ हेक्टर क्षेत्रफल मध्ये ४० प्रतिशत क्षेत्रफलमा रोगको समस्या देखिएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुन मगरले जानकारी दिनुभयो । मगरका अनुसार धेरै जस्तो स्थानमा पोटास मलको कमीका कारण समस्या आएको छ । सित व्लाष्ट रोग मौषमका कारण जमिनमा हावा खेल्न नपाउँदा ढुसी लागेर हुने गर्दछ । नेक व्लाष्ट रोग मौषम अनुकुल भएर बीउमा हुने रोगको संक्रमण भएको उहाँले बताउनुभयो ।

सेतो झिङ्गा जिल्लामा बढी संख्यामा साबित्री धानमा देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो समस्या कृषकको धानमा विगत एक महिनादेखि देखिन थालेको हो । जिल्लामा कतिपय स्थानमा धानमा दाना नलाग्ने समस्या समेत देखिएको छ । के कारणले दाना नलागेको भन्ने बिषयमा अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ ।

प्राविधिकको सल्लाह बमोजिम औषधिको प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस !