
चितवनः भारतबाट भन्सार छलेर ल्याईएका दुई टन माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । आज बिहान २ वजे रुपन्देहीबाट काठमाडौंका लागि लैजादैं गरेको माछा पशु क्वारेन्टीन चेकपोष्ट रामनगरले नियन्त्रणमा लिएको थियो ।
पशु क्वारेन्टीन रामनगर, मत्स्य व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त चेकजाँचका क्रममा माछा बरामद गरेर नष्ट गरिएको हो । माछा भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको सतनचुली सामुदायीक वनमा नष्ट गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्का अनुसार भन्सार छलेर ल्याईएको माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । उहाँका अनुसार लु २ च ६८९८ नम्बरको बोलेरोमा ल्याइएको माछा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।
असोज १ गतेबाट पशु क्वारेन्टाईन, मत्स्य व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलीले रामनगरमा चेकजाँच गर्दै आएको छ । सोमबार समेत चेकजाँचका क्रममा रामनगरबाट ६ सय २० किलो माछा बरामत गरि नष्ट गरिएको थियो । बरामद गरिएको माछामा फर्मालीनको प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो ।
भारतबाट भन्सार छलेर ल्याईएका माछाका कारण नेपालमा उत्पादीत माछाले बजार पाउन छोडेको भन्दै माछा व्यवसायी कृषकहरु आन्दोलन स्वरुप चेकजाँच सुरु गरेका हुन । मकवानपुरको रातोमटे र सिन्धुलीमा समेत चेकजाँच गरिएको संघका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिनुभयो ।