चितवनः सरकारले डेरी उद्योगहरुलाई दैनिक १ लाख २० हजार लिटर दुध आयात गर्न दिएको अनुमती प्रति चितवनमा दुग्ध उत्पादक सहकारीहरुले आपत्ती जनाएका छन् । आज यहाँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरि सरकारको निर्णय प्रति दुग्ध उत्पादक सहकारीहरुले आपत्ती जनाएका हुन ।
राज्यले बिगतको समयमा प्रतिबन्ध लगाएको दुग्ध आयातलाई पुनः शुरु गर्ने सरकारको निर्णयले किसानहरु मारमा परेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । संघका अध्यक्ष रत्नमणी न्यौपानेले सरकारले किसानको हित बिपरित काम गरेको भन्दै यो निर्णय तत्काल सच्याउन माग गर्नुभयो । आयातीत दुधका कारण नेपालमा किसानहरु बिस्थापित हुने स्थितिमा पुग्ने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो “नेपालका दुग्ध उत्पादक सहकारी एबं कृषकहरुसंग मोलमोलाई गर्नका लागि बिचौलियको पक्षमा सरकारले निर्णय ग¥यो ।” अहिले नेपालका दुग्ध उद्योगहरुले किसानहरुलाई तिर्नुपर्ने रकम समेत नतिरेको बताउँदै उहाँले अहिले सम्म नेपालको उत्पादनले पुगेको दुध अहिले नपुग्नुको कारण खोजिनु पर्ने बताउनुभयो । सरकारको निर्णय नसच्चिए किसान आन्दोलनमा उत्रने उहाँको भनाई थियो । सरकारले बि. सं. २०७५ सालबाट दुध आयातमा रोक लगाएको बताउँदै संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले सरकारबाट भएको गल्ति सच्चिनु पर्ने बताउनुभयो । नेपालमा माग बढेको भए उत्पादन समेत बढाउन लाग्नु पर्नेमा बिना आधार आयात गर्न दिनु किसानको हित बिपरित भएको उहाँको भनाई थियो ।
चितवन जिल्ला दुधमा आत्मनिर्भर जिल्ला घोषणा भईसकेको भन्दै उहाँले भारतबाट आयात गरिने दुधलाई रोक्नका लागि सडकमा बस्न तयार रहेको बताउनुभयो । संघका सचिब किशोर बगालेले सरकारले किसानको मर्म बुझ्नु पर्ने बताउनुभयो । आँफुहरुले यो बिषयमा सरकार र केन्द्रमा समेत जानकारी गराउँदा गराउँदै किसानको हित बिपरित निर्णय गरिएको बताउनुभयो ।
चितवनमा दुधालु गाई र भैसी ६८ हजार ६११ वटा रहेको र दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । यस मध्ये ४५ प्रतिशत दुध बाहिरी जिल्ला जाने गरेको छ । यहाँ उत्पादीत दुध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की जाने गरेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !