चितवनः नेपाल नेत्रज्योती संघ चितवनले भरतपुरमा सञ्चालन गरेको आँखा अस्पताल र आँखा उपचार केन्द्रहरु मार्फत गत एक वर्षमा झण्डै ३ लाखलाई सेवा दिएको छ । अस्पतालले सन् २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म २ लाख ८९ हजार ३९२ जनाको आँखा उपचार गरेको हो ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बहिरंगतर्फ भरतपुर आँखा अस्पतालमा १ लाख ३२ हजार ५२१, भरतपुर ओरालोमा रहेको चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरंग विभाग (सिटी क्लिनिक)मा १९ हजार १०८, ठोरी अस्पतालमा ८ हजार ५२३ जनाको उपचार गरिएको छ । यसैगरी कावासोती अस्पतालमा ९ हजार १४, सिम्रनगढ अस्पतालमा ६ हजार ६९० र आँखा उपचार केन्द्रहरुमा २६ हजार ७९८ जनाको उपचार गरिएको छ । अस्पतालले ग्रामीण क्षेत्रमा पुगेर सञ्चालन गरेको आँखा शिविर मार्फत् ८६ हजार ७३८ जनाको उपचार गरेको छ ।
अस्पतालले उक्त अवधिमा ९ हजार ८९६ वटा शल्यक्रिया गरेको छ । ती मध्ये हातले गर्ने शल्यक्रिया ७०२, उपकरणको माध्यमबाट गरिने फेको प्रविधिबाट ३ हजार ३०, आँखाको नानी (कर्निया) को ३८१, जलविन्दुको ८४, आँखाको पर्दा (रेटिना) को १६१ शल्यक्रिया गरिएको हो । यस्तै आँखाको वरिपरिको भागको (ओकुलोप्लास्टिक सर्जरी) ३८७, बालबालिकाको आँखाको ९०, अन्य शल्यक्रिया २१२ र शिविर मार्फत् रिफर गरिएका ४ हजार ८४९ जनाको शल्यक्रिया गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
सूचना अधिकारी घिमिरेले बहिरंग र शल्यक्रिया गरी लक्ष्यको १२४.९७ प्रतिशत सफलता मिलेको बताउनुभयो । अस्पतालले सन् २०२० को जुलाई १ देखि सन् २०२१ को जुन ३० सम्म १ लाख १८ हजार ९४७ जनाको उपचार गरेको थियो । सोही अवधिमा ५ हजार ३३५ जनाको विभिन्न शल्यक्रिया गरेको थियो । कोभिडका कारण उक्त अवधिमा बिरामीको संख्या कम भएको उहाँको भनाई छ । अस्पतालले २०२२ जुलाई १ देखि सन् २०२३ जुन ३० सम्म ३ लाख ४१ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलका अनुसार अस्पतालमा बिशेषज्ञ र अतिबिशेषज्ञता प्राप्त गरेका दक्ष चिकित्सक रहेका छन् । हाल ९ जना बिशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । यस्तै ९ जना बिशेषज्ञ अध्ययनरत रेसिडेन्टल चिकित्सक रहेका छन् । बिशेषज्ञता हाँसील गरेकाहरु मध्ये आँखाको पर्दा (रेटिना), आँखाको बाहिरी नानी(कर्निया), जलबिन्दु, प्लाष्टिक सर्जरी, बच्चाको आँखामा फेलोसिप गरेर अति बिशेषज्ञता हाँसील गरेका चिकित्सक कार्यरत रहेका छन् ।
उहाँको भनाईमा १ सय १७ जनाको अतीबिशेषज्ञ चिकित्सक देखि सहायक सम्मको कर्मचारीको समूह उपचारमा जुटेको छ । अस्पतालले १ सय ११ जनाको नानीको प्रत्यारोपण गरि सकेको छ । यस अस्पताल मार्फत ३९ नानी संकलन गरीएको छ । ८ सय ८६ जनाले आँखा दानका लागि इच्छा दान गरेका छन् । धरेलका अनुसार अस्पतालमा चितवन, मकवानपुर, नवलपरासी सुस्ता–बर्दघाट पूर्ब, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली, गोरखा, लम्जुङ्, तनहुँ, धादिङ् लगाएतका जिल्लाका बिरामीले प्रत्यक्ष रुपमा सेवा पाएका छन् । यसको अतिरिक्त नेपालका अन्य जिल्ला र छिमेकी देश भारतका सिमा क्षेत्रका बिरामीले यहाँ सेवा लिदैं आएका छन् ।





