चितवनः भरतपुर महानगरपालिकाले दुईहजार युवालाई निःशूल्क तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागि आबेदन समेत माग गरिसकेको छ ।
आवेदन दिनका लागि भरतपुर महानगरपालिका भित्र बसोबास गर्ने, कम्तीमा आठ कक्षा उर्तिण, १८ वर्ष पुरा गरी ४० वर्ष नपुगेका व्यक्तिले भरतपुर महानगरपालिका तथा सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ ।
भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति तथा कार्यक्रम बमोजिम सैलुन, प्लम्बर, इलेक्ट्रिसियन, ड्राईभिङ र मागमा आधारित मेयर उद्यमशीलता तालिम दिन लागिएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्युनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिनुभएको छ । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिइने उहाँको भनाई छ ।
प्रमुख दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढी भन्दा बढी रोजगारी प्रर्वद्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको बताउनुभयो ।
महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने लक्ष्य लिएको उहाँको भनाई छ । महानगरपालिकाले यो आर्थिक वर्षमा युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न रु १ करोड ५० लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।






