काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गर्नुभएको छ । माओवादी केन्द्रका चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाउनुभयो । “मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो बामपन्थी आन्दोनल बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अंगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन” ओलीले भन्नुभयो “प्रचण्ड हात लुकाइलुकाई हिँड्थे, म अलिकलि सचेत थिएँ । नभन्दै मैले अंगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे ।”
ओलीले अगाडि भन्नुभयो “म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने ।” आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।






