चितवनः जिल्लामा जापनिज इन्सेफ्लाईटीसका कारण एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ चैनपुरकी ६० वर्षिया बृद्धा रहेकी छन् । उनको उपचार पछि घर फर्किए संगै मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईका अनुसार हाल सम्म जिल्लामा जापनिज इन्सेफ्लाईटीस पुष्टि भएका ९ जना मध्ये एक जनाको मृत्यु भएको हो ।
ती महिला भदौं ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर आएकी थिइन । यहाँका दुई अस्पतालमा उपचार पछि निको नहुने भनेर चिकित्सकले घर पठाए पछि मृत्यु भएको स्वास्थ्य कार्यालय माडीका प्रमुख भोजराज खनालले जानकारी दिनुभयो ।
जिल्लामा जापानिज इन्सेफ्लाईटीसको महामारी देखिएको छ । २२ जना शंकास्पदको नमुना परीक्षणका क्रममा ९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । चापागाईका अनुसार पुष्टि भएको मध्ये माडीकै अर्का एक जना ७५ बर्षिया महिला सम्पर्कमा आएकी छैनन् । खोजि कार्य भइरहेको छ । राप्तीका ३५ वर्षिया महिला उपचार पछि घर फर्किएकी छन् । उनको स्मरण शक्ति कम्जोर भएको छ । कालिका नगरपालिकाका एक जना ३२ बर्षिय पुरुष अस्पतालबाट निको भएर घर फर्किएको र अबस्था सामान्य रहेको चापागाईले जानकारी दिनुभयो । रत्ननगरका २९ बर्षका एक महिलाको भरतपुर अस्पतालको सघन उपचार कक्षमा गम्भिर अबस्थामा उपचार भईरहेका छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । भरतपुर महानगर भित्रका चार जना मध्ये वडा नम्बर २२ का ५२ बर्षिय पुरुषमा अस्वभाबिक गतिबिधि र बिर्षने समस्या रहेको छ ।
सोही वडाका ५२ बर्षिया एक महिला, वडा नम्बर १९ का ७० वर्षका पुरुष र वडा नम्बर २० का ६४ वर्षका पुरुषमा जापनिज इन्सेफ्लाईटीसको पुष्टि भएको भए पनि बिरामी सम्पर्कमा ल्याउन नसकीएको चापागाईले बताउनुभयो । उहाँका अनुसार ती बिरामीको खोजि कार्य भइरहेको छ । रगतका नमुना संकलन गर्दा एकिन ठेगाना प्रष्ट नलेखिएकाले बिरामीको खोजिमा कठिनाई भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १२ जनाको परीक्षण गर्दा ४ जनामा, माडीमा ५ जनाको परीक्षण गर्दा २ जनामा, राप्तीमा २ जनाको परीक्षण गर्दा १ जनामा, कालिका नगरपालिकामा १ जनाको परीक्षण गर्दा १ जनामानै र रत्ननगरमा २ जनाको परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको हो । साउनको १५ गतेबाट बिरामी देखिन थालेकोमा भदौ १८ गते यो संख्या एकाएक बढेर ९ पुगेको थियो । यहाँ परीक्षण गर्दा नमुनामा सङ्कास्पद देखिएपछि नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने गरिन्छ । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको चापागाई बताउनुहुन्छ । हाल रोग देखिएकाहरु ४ पुरुष र ५ महिला रहेका छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका रहेका छन् ।
सन् २०२१ मा जिल्लामा यो संख्या १ जना रहेको थियो । सन् २०२० मा १ जना थियो भने सन् २०१९ मा जिल्लामा यो संख्या शून्य रहेको थियो । सन् २०१८ मा १ जनामा सङ्क्रमण देखिएको थियो । चापागाईले भन्नुभयो “सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।” सन् २०१८ मा देखिएका बिरामी १५ वर्ष मुनिका हुन भने त्यस पछिका सबै १५ वर्ष भन्दा माथिका हुन । विश्व स्वास्थ्य संगठनले एउटा जापानिज इन्सेफ्लाईटीसको बिरामी देखिदैंगर्दा ३ सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा २ हजार ७ सय जनामा सङ्क्रमण हुन सक्ने भन्दै सतर्कता अपनाईएको चापागाईको भनाई रहेको छ ।

यो रोग अप्रिल÷मे देखि सेप्टेम्बर÷अक्टुबर सम्म देखिने गर्दछ । भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा. गोबिन्द कँडेल सुङ्गुर प्रजाती र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने बताउनुहुन्छ । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिले काही बेहोस हुने, छारे रोगको झै शरिरमा कम्पन आउने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !