चितवनः जिल्लामा जापानिज इन्सेफलाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । रोक बढ्न नदिन विशेषज्ञ सावधानी अपनाईएको छ । हालसम्म नौ जनामा जापानिज इन्सिेफलाइटिसको संक्रमण पुष्टि भईसकेको छ । २२ जना शंकास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईका अनुसार जिल्लाको द्रुत प्रतिकार्य टोली (¥यापिड रेस्पोन्स टिम) लाई सक्रिय बनाईएको छ । स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा हुने यो टोलीमा भरतपुर अस्पताल, दुई मेडिकल कलेज, निजी अस्पताल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सदस्य हुने गर्दछन् । टोलीले जिल्लाका सबै पालिका र स्वास्थ्य कार्यालयमा महामारीमा आवश्यक पर्ने औषधिको मौज्दात (बफर स्टक) गर्ने निर्णय गरेर काम अघि बढाएको छ ।
स्थानीय सातै तहमा रहेका द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाईएको छ । कुनै पनि रोगको अप्रत्यासित बृद्धि भएको पाईएमा स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । सो टोलीले थप आवश्यक परेमा जिल्लाको टोलीसँग समन्वय गरेर आवश्यक सहयोग लिने गरी व्यवस्था मिलाईएको छ ।
जिल्लाको टोलीले मुख्य अस्पतालहरु र स्थानीय तहका अस्पतालहरुलाई जापानिज इन्सेफलाटिससहित महामारीजन्य रोगको शंका देखिएमा दैनिक रिपोर्टिङ गर्ने व्यवस्था मिलाईएको छ । चपागाईका अनुसार विश्व स्वास्थ्य संगठनका चिकित्सकहरुसँग बसेर छलफल र तयारी गरिएको छ । उनीहरुसँगको छलफलमा कस्ता बिरामी निगरानीमा राख्ने भन्ने विषयमा पनि छलफल भएको छ । पालिकामा रहेका जापानिज इन्सेफलाटिसका बिरामीको अवस्थाको बारेमा निरन्तर अनुगमन गर्न भनिएको छ ।
विश्व स्वास्थ्य संगठनका चिकित्सकहरुले ती बिरामी र आफन्तहरुलाई भेट गरी निरन्तर रुपमा अवस्था बुझ्ने काम गरिरहेका छन् । जिल्लाको टोलीले मुख्य मुख्य अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेडिकल विभाग प्रमुख, अस्पताल निर्देशकहरुसँग छलफल गरेर प्राविधिक पक्षको जानकारी र तयारीका विषयमा छलफल गरेको छ ।
पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुसँग जिल्लाको टोलीले छलफल गरेर तयारी रहन भनिएको छ । रोग फैलिन नलिन अपनाउनु पर्ने सावधानीका बारेमा पालिकाहरुले काम गरिरहेको उहाँ बताउनुहुन्छ ।
जिल्लाका ५ वटा पालिकामा एकै पटक नौ जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकाका ४ जना, माडी नगरपालिकाका दुई जना, राप्ती, रत्ननगर र कालिकाका नगरपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । साउन २० गते पहिलो पटक भरतपुर र माडीमा संक्रमण पुष्टि भएको थियो । गत साता एकै पटक सात जना थपिएपछि महामारीको अवस्था सिर्जना भएको हो । संक्रमित मध्ये पाँच जना महिला र चार जना पुरुष रहेका छन् । उनीहरु २९ देखि ७५ वर्ष उमेर समूहका रहेका छन् ।
निश्चित समय र भूगोलमा अनपेक्षित रुपमा अनुमानभन्दा बढी जापानिज इन्सेफलाइटिस संक्रमित देखिएमा त्यसलाई विश्व स्वास्थ्य संगठनले महामारीको परिभाषामा राखेको चापागाईले बताउनुभयो । जिल्लामा ९ जनामा प्रमाणित भएपछि समुदायमा २ हजार ७ सयमा संक्रमण रहेको छ भन्ने अनुमान गर्न सकिने उहाँको भनाई छ ।
जापानिज इन्सेफलाइटिस सन् १९७८ मा नेपालको रुपन्देही जिल्लामा पहिलो पटक देखा परेको थियो । जिल्लामा शंकास्पद बिरामीको स्क्रिनिङ गरी नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाईने गरिएको उहाँको भनाई छ । चितवनमा सन् २०१८ मा १ जना, २०२० मा एक जना, २१ मा १ र सन् २२ मा (हाल) ९ जनामा यो रोगको संक्रमण देखिएको थियो ।
बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, वान्ता हुने, बेहोस् हुने, शरीर काम्ने, घाँटी अररो हुने जापानिज इन्सेफलाइटिसका लक्षणहरु हुन् । जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टेले घोडा, सँुगुर, बंगुर, हाँस जस्ता पशुपक्षीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ । तर मानिसबाट मानिसमा भने यो रोग सर्दैन ।
जापानिज इन्सेफलाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्ने र लामखुट्टे नियन्त्रण गर्ने उद्देश्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोग विरुद्ध खोप लगाउने, संगुर, बंगुर, हाँस, घोडा जस्ता घरपालुवा जनावर व्यस्थित ढंगले पाल्ने, पशुपक्षीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ । जापानिज इन्सेफलाइटिस संक्रमण भएका ३३ प्रतिशतको मृत्यु हुने, ३३ प्रतिशत अपाङ्ग हुने र ३३ प्रतिशत निको हुने चिकित्सकहरुको भनाई छ ।





