चितवनः कलेज अफ मेडीकल साइन्सेजले निःशुल्क मृर्गाैला डाइलासिस नगर्ने जनाए पछि बिरामी र तीनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् । सरकारले दिनुपर्ने रकम भूक्तानी नगरेको भन्दै कलेजले यही असोज १ गतेबाट निःशुल्क डायलासीस रोक्ने भन्दै सूचना जारी गरेको छ ।

मृर्गाैला पीडित सरोकार समाज चितवनले जिल्ला प्रशासन कार्यालय चितवन, कलेज अफ मेडिकल साईन्सेज (पुरानो मेडिकल कलेज), भरतपुर महानगरपालिका र स्वास्थ्य कार्यालय मार्फत् स्वास्थ्य मन्त्रालय नर्सिङ तथा स्वास्थ्य महाशाखा काठमाण्डौंमा ज्ञापनपत्र बुझाएको हो ।

पुरानो मेडिकल कलेजमा डाइलासिस गराईरहेका पीडितहरुलाई कलेजले असोज १ गतेदेखि निःशुल्क सेवा दिन नसक्ने सूचना दिएपछि समाजले ज्ञापनपत्र बुझाएको हो । समाजका अध्यक्ष टुमराज गुरुङका अनुसार उक्त कलेजमा समाजमा आवद्ध ४७ जनाले निःशुल्क डाइलासिस गराउँदै आएका छन् ।

कलेजले विगत १४ महिनादेखि मृर्गाैला डाइलासिस वापतको रकम भुक्तानी प्राप्त नभएको कारण देखाउँदै असोज १ देखि निःशुल्क सेवा दिन नसकिने जनाएको छ । कलेजका निर्देशक डा. मनोहर प्रधानले डायलासिसको मात्रै रु १ करोड ५० लाख भुक्तानी पाउन बाँकी रहे पछि धान्न नसकेर सेवा नियमित गर्न नसक्ने जानकारी गराएको बताउनुभयो ।

सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत असार ३१ गते सम्झौता मिति समाप्त भईसकेपछि पनि मानवीय नाताले बिरामीलाई डाइलासिस सेवा दिंदै आएको अस्पताले जनाएको छ । ठूलो रकम भुक्तानी बाँकी रहेकाले स्वास्थ्य बीमाका बिरामीलाई बीमा अन्तर्गत र बीमा नगराएकाको हकमा सशुल्क सेवा दिन सकिने अस्पतालको सूचनामा जनाईएको छ । अस्पतालमा १२ वटा मेसिनले दैनिक तीन सिफ्टमा ३६ जनाको डायलासिस गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पीडितहरुले निःशुल्क सेवा पाउनु पर्ने बताउनुभयो । उहाँले पुरानो मेडिकल कलेजलाई पत्र पठाएर सेवा नियमित गर्न निर्देशन दिएको जानकारी दिनुभयो । आफूले मन्त्रालयमा समेत यस सम्बन्धी समन्वय गरिरहेको भन्दै उहाँले पीडितहरुले पाउँदै आएको सेवा रोक्न नमिल्ने बताउनुभयो । मन्त्रालयका सचिब संग नै आँफुले कुरा गरेको भन्दै उहाँले अस्पतालले पैसा पाउने र सेवा रोक्न नपाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !