चितवन: मनोरोग लुकाउँदा आत्महत्यामा परिणत हुन सक्ने चिकित्सकहरुले बताएका छन् । मनोरोग पहिचान गरी समयमै उपचार गर्न सके आत्महत्या न्यूनिकरण गर्न सकिने उनीहरुको भनाई छ । परिवारले मनोरोगीलाई उपचार नगरी लुकाएर राख्दा आत्महत्याका घटना बढ्ने गरेको चिकित्सकहरु बताउँछन् ।
मानसिक रोग विशेषज्ञ डा.गिरिराज भन्ताना आत्महत्याको ९९ प्रतिशत मानसिक रोगका कारणले हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “मानसिकमा पनि ८५ प्रतिशत डिप्रेसनले हुन्छ ।” मदिराका कारण समस्या देखिएकाहरुमा यो समस्या दोब्बर हुने उहाँ बताउनुहुन्छ । उहाँले थप्नुभयो “डिप्रेसनको बिरामीले मदिरा सेवन गरेमा आत्महत्या गर्ने समस्या दोब्बर हुन्छ ।”
समाजमा बढी मात्रामा महिलाहरुले आत्महत्याको प्रयास गर्ने गरेको भन्दै उहाँले आत्महत्या गर्ने संख्या भने पुरुषको बढी हुने गरेको बताउनुभयो । आत्महत्या गर्नेहरु बृद्धबृद्धा बढी हुने गर्दछन् । मानसिक रोगलाई लुकाएर हेलचक्र्याई गर्दा समस्या थपिने गरेको भन्तनाको भनाई छ । उहाँले भन्नुभयो “रोग पहिचान भएसँगै उपचार गर्न सकियो भने आत्महत्याबाट बचाउन सकिन्छ ।” साधारण समस्या देखिंदैमा उपचार गर्न उहाँको सुझाव छ ।
उहाँले भन्नुभयो “घरपरिवार र समाजले मनोरोगीहरुलाई घृणा होइन, माया र उपचार गरे आत्महत्या हुनबाट बचाउन सकिन्छ ।” राज्यले उपचार थलो बनाईदिनु पर्ने डा. भन्तानाको भनाई छ ।
निजी क्षेत्रबाट चितवनको खैरहनीमा ब्युटिफुल माईन्ड इन्स्टिच्यूट अफ साईक्याट्रिक सञ्चालन गर्दै आउनु भएका भन्तना कोभिडपछि आर्थिक अभावका कारण आत्महत्याका घटना बढेको बताउनुहुन्छ । बंशाणुगत पनि यो समस्या हुने गर्दछ । उहाँको भनाईमा १० प्रतिशतसम्म मनोरोग बंशाणुगत हुन्छ ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मनोरोग विशेषज्ञ प्रा.डा.सिपी सेढाई मानसिक रोगका बिरामीहरुलाई आशावादी कुरा गरेर आत्महत्याबाट बचाउन सकिने बताउनुहुन्छ । उहाँले नकारात्मक सोचाई भएका व्यक्तिलाई सकारात्मक कुरा गरेर उसको आत्महत्याको सोचाई परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो “मान्छेको दिमाखमा नकारात्मक कुरा खेलिरहेको हुन्छ, त्यो अधिकतम विन्दुमा पुग्छ । त्यो बीचमा कुराकानी (कम्युनिकेट) र उपचार गर्न पाईयो भने आत्महत्याबाट रोक्न सकिन्छ ।”
डा. सेढाईले भन्नुभयो “दुव्र्यसनीका कारण अरुले मलाई मार्न लागेका छन् भन्ने भावना आएर अरुले .मार्नुभन्दा आफै मर्छु भन्ने भावना आएर आत्महत्या गर्छन् ।”
मनोरोगको अवस्था हेरेर उपचार गर्नुपर्ने उहाँको भनाई छ । आत्महत्याका चार वटा कारण हुने बताउँदै उहाँले अगाडि थप्नुभयो “एउटा डिप्रेसन, दुव्र्यसनी (रक्सी वा अन्य लागू पदार्थ), सिजोफेनिया लगायतका मानसिक कमजोरीको समस्या र अर्काे व्यक्तित्व प्रदर्शन (पर्सनालिटी शा) कारणले आत्महत्या गर्न सक्छ ।”
आत्महत्या सोचाईको बिरामी छ भने अस्पताल भर्ना गरेरै उपचार गर्नुपर्ने बताउँदै उहाँले दुव्र्यसनीको पनि उपचार गरेपछि निको पार्न सकिने बताउनुभयो । व्यक्तित्व वा कुनै घटनाले गर्दा भएको छ भने काउन्सिलिङ्ग महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ । शंकास्पद मानसिक रोगीको सबै कुरा निगरानी गर्न सुझाव दिंदै उहाँले भन्नुभयो “मनोरोगीका कुरालाई वेवास्ता गर्नु हुँदैन । यसले जिस्किएर भनेको होला वा खेलाँची गरेको होला भनेर सोच्नु हुँदैन । त्यस्तालाई उपचार गरिहाल्नुपर्छ ।”
भरतपुर अस्पतालका मनोरोग विभाग प्रमुख विशेषज्ञ डा.सुनिल साह परिवारका कुनै सदस्यलाई मनोरोगको लक्षण देखिएमा परामर्श दिने वा आवश्यक परेमा थप उपचार गर्नुपर्ने बताउनुहुन्छ । मानिसमा निराशा, दिक्दारी, स्वभाव र व्यवहारमा परिवर्तन देखियो भने मनोरोगको लक्षण हुने उहाँको भनाई छ । परिवार र समुदायले अपहेलना गर्न नहुने भन्दै उहाँले भन्नुभयो “मानसिक रोगका बारेमा जनचेतना जगाउन आवश्यक छ ।”
सामाजिक, आर्थिक, राजनीतिक, महामारी, द्वन्द्व लगायतका कारणले मनोरोग हुने उहाँले बताउनुभयो । मनोरोग नलुकाएर विशेषज्ञकहाँ समयमा पु¥याउन सकेमा आत्महत्याका धेरै घटनाबाट बचाउन सकिने उहाँको भनाई छ । आत्महत्या निरुत्साहित गर्न समुदायको भूमिका महत्वपूर्ण हुने डा. साह बताउनुहुन्छ ।
विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष आत्महत्याका कारण ७० लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने अनुमान गरेको छ । विश्वव्यापी आत्महत्यामध्ये लगभग ७७ प्रतिशत निम्न र मध्यम आय भएका देशहरूमा हुन्छन् । विश्वमा हुने हरेक १०० मृत्युमध्ये एक जना आत्महत्याको परिणामले हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस वर्षको नारा “कार्यहरू मार्फत आशालाई जगाउने” रहेको छ ।





