चितवन: चितवनका केरा व्यवसायी कृषकहरुले भारतीय केराको आयात नरोकीए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक संघ चितवनले बिज्ञप्ति जारी गर्दै भदौ २२ गते mदेखि २९ गते सम्ममा भारतीय केरा आयात नरोकीए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघका अध्यक्ष माधब प्रसाद घिमिरेद्धारा जारी बिज्ञप्तिमा केरामा आत्मनिर्भर वनाउन लागेका कृर्षकहरुलाई भारतीय केराको आयातले निरास बनाएको जनाईएको छ ।
जिल्लामा ७० हजार मेट्रिकटन बार्षिक केरा उत्पादन हुँदै आएको संघले जनाएको छ । भारतीय केराको आयात नरोकीए जिल्लाका केरा व्यवसायीहरु चरणबद्ध आन्दोलन गर्ने संघले जनाएको हो । सरकारले केरा आयात गर्दा एल सि खोलेर मात्र ल्याउन पाउने नियम बनाएको भए पनि बिभिन्न नाकाबाट बिना एल सि भारतीय केराहरु अबैध रुपमा नेपाल भित्रिएने गरेको पाइएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यो समस्या समाधान हुन नसके व्यवसायिकता तर्फ उन्मुख कृषकहरु पलाएन हुने अबस्थामा पुग्ने छन ।”
जिल्लामा केरा उत्पादन बढिरहेको र भारतीय केरा समेत निर्बाध रुपमा आयात भइरहेका कारण उत्पादीत केराले उचित मूल्य पाउन नसकेको उहाँको भनाई थियो । चाडपर्बको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनुले यहाँका कृषकहरु अपठेरोमा परेको कृषकहरुले बताएका छन् । नेपाल केरा उत्पादक महासंघका अध्यक्ष बिष्णुहरी पन्तले भारतीय आयात रोक्न नसके जिल्लाको उत्पादन त्यसै फाल्नु पर्ने बताउनुभयो । उहाँले अहिले देशव्यापि रुपमा १५ ट्रक केरा आयात हुने गरेको बताउनुभयो । चितवनबाट मात्रै अहिले दैनिक १५ बोलेरो केरा उत्पादन भएको उहाँले जानकारी दिनुभयो । नेपालमा छठ पर्ब सम्मलाई पुग्ने केरा उत्पादन भएको भन्दै उहाँले देशभरबाट भारतीय केरा आयातको बिरुद्धमा आन्दोलनको तयारी भएको बताउनुभयो ।
नेपालमा उत्पादीत केराले बजार नपाउने अबस्थामा कृषकहरु आन्दोलीत बन्नुपरेको महासंघले जनाएको छ । चितवन, नवपुर, नवलपरासी, रुपन्देही, सुनसरी, मोरङ्, केलाली, कञ्चनपुर, बाँके, बर्दिया लगाएत जिल्लामा केरा खेती हुँदै आएको छ । नेपालको उत्पादनको २० प्रतिशत चितवनले ओगट्ने गरेको छ ।






