चितवनः लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यसलाई छोनाम पनि भन्ने गर्दछ ।
यस वर्ष भदौ २२ गते पर्व मनाईदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ संघका पूर्व केन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङ समुदायिक यो साँस्कृतिक पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो ।” यस दिन कन्दमुल, फलफूल, तरकारी, घैया धान आदिको पान्दे झाँक्री बोलाएर पूजा गरेर खाने गरिन्छ । यसै दिन पितृहरुको सम्झनामा पूजा गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामी यस दिन देवी देवतासँग रोग ब्याधी नलागोस् भनेर आर्शिवाद लिने गर्दछौं । भाकल भए त्यसको समेत पूजा गर्दछौं ।”
घैया धानलाई टाउकोमा राखेर आशिस लिने गरिन्छ । सोही दिन रातभर चेपाङ समुदायिका पुराना भाकाका गीत, झ्याउरे गीत गाएर रातभर नाँचगान गरी रमाईलो गर्ने परम्परा रहेको छ । पछिल्लो समय धेरै चेपाङले धर्म परिवर्तन गरेसँगै विगतको जस्तो पर्व रमाइलो हुन छाडेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “९० प्रतिशत चेपाङ क्रिश्चियन बनेपछि भाषा, धर्म, संस्कृति जोगाउन मुस्किल भयो ।” यो पर्व अहिले लोपुन्मुख हुँदै गएको उहाँको भनाई छ ।
संघका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङ यो समुदायले भूयार र न्वागी गरी दुई वटा पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “खेती लगाउने समयमा भूयार र खेती थन्काउने बेलामा न्वागी मनाउने गरिन्छ ।” फागुन चैतमा रोपेका बाली साउन÷ भदौमा तयार भएपछि चढाउने गरिन्छ । प्रकृतिलाई पूजा गर्दै नयाँ खेती भित्र्याउने गरिन्छ । मुख्य रुपमा यतिबेला पिडालु, निबुवा, घिरौला, कागनो, तामा, घैया धान भित्र्याएर भगवानलाई चढाएर खान शुरु गरिने उहाँले बताउनुभयो ।
राप्ती नगरपालिकाको चार किल्लाका पहलमान चेपाङ न्वागी पुरानो परम्परा र संस्कृति भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “यो हाम्रो ठूलो पर्व हो । घरघरमा हामी खुशीयाली साटासाट गरेर यो पर्व मनाउँछौं । कतिपयले यो पर्व समूहगत रुपमा पनि मनाउँछन् ।” चेपाङ समुदायलाई आफ्नो बारीमा उब्जनी भएको अन्नले ६ महिनापनि खान पुग्दैन । जे जति उत्पादन हुन्छ, यसलाई निकै सम्मान दिएर पूजा गरेर मात्रै खाने चलन रहेको छ । उहाँले भन्नुभयो “न्वागी पूजा नगरेसम्म अन्न जुठो हुन्छ, चोख्याएर मात्रै खान्छौं ।” धर्म परिवर्तनका कारण पछिल्ला दिनमा पर्ब मनाउनेहरु घटेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “हाम्रो धर्म, संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्छ ।”
पहाडी क्षेत्रमा रहेका लोपुन्मुख यो जाती धेरैको आफ्नै जमिन समेत छैन । वनमा फलेका कन्दमुल प्रजाति खाएर कतिपयले जीविको टार्नुपर्ने बाध्यता रहेको छ । शिक्षाको अभावमा बाल्य अवस्थामा नै विवाह हुने गरेको छ । जसका कारण जन्मिएका बालबालिका र आमाको स्वास्थ्य जटिल हुने गर्दछ । यो जातिका लागि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनीहरुको माग छ ।
यस वर्षबाट चेपाङ समुदाय बसोबास गर्ने चितवन, मकवानपुर र धादिङ जिल्लामा बागमती प्रदेश सरकारले पहिलो पटक सार्वजनिक विदा दिएको छ । नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातीको बसोबास बढी रहेको छ । यसका अतिरिक्त छिटफुट २४ जिल्लामा चेपाङ समुदाय बस्ने गरेको संघले जनाएको छ ।
बि.सं. २०६८ को गणना अनुसार नेपालमा यो जातीको जनसंख्या ६८ हजार ३९९ रहेको छ । जसमध्ये चितवनमा यो संख्या २८ हजार बढी छ । पछिल्लो जनगणनाको संख्या आईसकेको छैन । जिल्लाको ईच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा यो जातीको बाक्लो बसोबास रहेको छ ।






