चितवनः जिल्लामा जापानिज इन्सेफ्लाईटीसको महामारी देखिएको छ । २२ जना शंकास्पदको नमुना परीक्षणका क्रममा ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य संगठनको निर्देशिकाले यसरी जापानिज इन्सेफ्लाईटीसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १२ जनाको परीक्षण गर्दा ४ जनामा, माडीमा ५ जनाको परीक्षण गर्दा २ जनामा, राप्तीमा २ जनाको परीक्षण गर्दा १ जनामा, कालिका नगरपालिकामा १ जनाको परीक्षण गर्दा १ जनामानै र रत्ननगरमा २ जनाको परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको हो । साउनको १५ गतेबाट बिरामी देखिन थालेकोमा भदौ १८ गते यो संख्या एकाएक बढेर ९ पुगेको हो । यहाँ परीक्षण गर्दा नमुनामा सङ्कास्पद देखिएपछि नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो ।

कार्यालयका प्रमुख दुर्गादत्त चापागाईका अनुसार सङ्क्रमित मध्ये २ जनाको भरतपुर अस्पतालको सघन उपचार कक्षमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । एक जना माडीमा बृद्ध नागरिक अर्धचेत अवस्थामा रहेका छन् । अन्यको अवस्थाको बारेमा जानकारी लिने काम भईरहेको भए पनि अहिलेसम्म रोगका कारण मृत्यु हुन नपाएको चापागाईले जानकारी दिनुभयो ।

जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको चापागाई बताउनुहुन्छ । हाल रोग देखिएकाहरु ४ पुरुष र ५ महिला रहेका छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका रहेका छन् । देशभरमा सङ्क्रमण देखिएकाहरुको संख्या ४५ रहेको छ । चापागाईका अनुसार बागमती प्रदेशमा यो संख्या १८ रहेको छ । जसमध्ये ९ जना चितवनमा देखिएको हो ।

सन् २०२१ मा जिल्लामा यो संख्या १ जना रहेको थियो । सन् २०२० मा १ जना थियो भने सन् २०१९ मा जिल्लामा यो संख्या शून्य रहेको थियो । सन् २०१८ मा १ जनामा सङ्क्रमण देखिएको थियो । चापागाईले भन्नुभयो “सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।” सन् २०१८ मा देखिएका बिरामी १५ वर्ष मुनिका हुन भने त्यस पछिका सबै १५ वर्ष भन्दा माथिका हुन । विश्व स्वास्थ्य संगठनले एउटा जापानिज इन्सेफ्लाईटीसको बिरामी देखिदैंगर्दा ३ सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा २ हजार ७ सय जनामा सङ्क्रमण हुन सक्ने भन्दै सतर्कता अपनाईएको चापागाईको भनाई रहेको छ ।

स्वास्थ्य संगठनले कुनै निश्चित भूगोल, समुदाय र समयमा अनुमानित भन्दा बढी जापानिज इन्सेफ्लाईटीसका बिरामी देखिएमा त्यसलाई महामारी मान्ने गरेको चापागाईले जानकारी दिनुभयो । नेपालको इतिहासलाई हेर्दा सन् १९७८ मा रुपन्देही जिल्लामा पहिलो पटक देखिएको थियो । सन् २००४ मा देशव्यापी रुपमा खोजपडताल अभियान गरेको पाईन्छ । सन् २००६, सन् २०११ र २०१६ मा राष्ट्रिय रुपमा अभियानको रुपमा जनचेतनामुलक कार्यक्रम (क्याम्पियन) गरिएको थियो । सन् २००९ देखि नियमित रुपमा १२ महिना पुगेका बालबालिकालाई खोप लगाईदै आएको छ । रोग देखिएका बिरामी मध्ये एक तिहाईको निको हुने, एक तिहाई अपाङ्ग हुने र एक तिहाइको मृत्यु हुने बिश्व स्वास्थ्य संगठनको प्रक्षपण रहेको छ ।

यो रोग अप्रिल÷मे देखि सेप्टेम्बर÷अक्टुबर सम्म देखिने गर्दछ । भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा. गोबिन्द कँडेल सुङ्गुर प्रजाती र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने बताउनुहुन्छ । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिले काही बेहोस हुने, छारे रोगको झै शरिरमा कम्पन आउने उहाँले जानकारी दिनुभयो ।

क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट यो रोग सर्ने स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । उहाँले ग्रामीण क्षेत्रमा सुङ्गुर, बंगुर र हाँस पालिएको ठाउँ वरीपरी रहँदा बिशेष ख्याल गर्न र रोगको आशंका भएमा तत्काल उपचार गर्न आग्रह गर्नुभएको छ । कार्यालयले बिरामीको संख्या एकाएक बढेपछि अस्पतालहरु र पालिकाका स्वास्थ्य प्रमुखहरुसँग आज छलफल गरी तत्काल तथ्याङ्क कार्यालयमा पठाउने व्यवस्था मिलाउन र आशंका देखिएका बिरामीलाई उपचारको प्रबन्ध मिलाउने बिषयमा छलफल गरेको छ । सो अवसरमा बिश्वस्वास्थ्य संगठनका यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

स्वास्थ्य संगठनले पछिल्ला दिनहरुमा रोग देखिएका बिरामीहरु र तीनका परिवारलाई भेटघाट गरि अवस्थाको बारेमा बुझ्ने काम गरिरहेको छ । जापानिज इन्सेफलाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्ने र लामखुट्टे नियन्त्रण गर्ने उद्देश्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोग विरुद्ध खोप लगाउने, संगुर, बंगुर, हाँस, घोडा जस्ता घरपालुवा जनावर व्यस्थित ढंगले पाल्ने, पशुपक्षीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस !