चितवन: भरतपुर फुटवल क्लबले यही भदौ २५ गते देखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमानै सर्बाधिक धनरासीको यो प्रतियोगिता असोज ३ गते सम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुने आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ । त्रिभुवन आर्मी, शशस्त्र प्रहरी बल (एपिएफ), मनाङ् एफसी, भरतपुर फुटवल क्लब, जेजेवाईसी सिमरा, मकवानपुर, बागमती, र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारी समेत प्रतियोगितामा सहभागी हुने छन् । सहभागी टिमलाई दुई समुहमा बिभाजन गरिएको सो अबसरमा जानकारी दिईयो ।
प्रतियोगितामा बिजेताले गोल्डक उपाधि सहित रु ७ लाख र उपबिजेताले रु ३ लाख ५० हजार प्राप्त गर्ने भूसालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताका लागि अहिले मैदान व्यवस्थापनको काम भइरहेको उहाँले बताउनुभयो । चार हजार दर्शक क्षमताको अस्थाई प्याराफिट निर्माणको काम भईरहेको छ । प्रतियोगिता सम्पन्न गर्न रु ७० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । प्रतियोगिताको प्रबद्धकका रुपमा चितवन जिल्ला फुटबल संघ रहेको छ ।






