चितवनः निरन्तर वर्षात संगै ठाउँ ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड दिउँसो ३ वजे सम्म खुलाउने गरी काम भईरहेको छ । सो सडकको केराबारीको मौरी खोला र १८ किलोमा ठूला पहिरो खसेका थिए । ठाउँठाउँमा साना पहिरा खसेका छन् ।
डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार मौरीपुल वाहेकका पहिरो पन्छाई सकिएको छ । मौरीपुलमा दुई लोडर, दुई व्याक हो लोडर र एउटा एक्साभेटरले काम गरिरहेको छ । सो ठाउँमा ६० मिटर सडक पहिरोले ढाकिएको छ । ८ मिटर चौडाइ र ५ मिटर अग्लो पहिरो पन्छाउने काम भईरहेको छ । १८ किलोमा २० मिटर लामो ११ मिटर चोडाई र एक दशमलब ५ मिटर सडक पहिरोले ढाकेको थियो ।
बिहान ५ः५० वजेबाट अबरुद्ध भएको सडकका कारण धेरै सवारी साधन जाममा परेका छन् । बर्षातको समयमा समय समयमा पहिरो खस्दा यो सडक हुँदै यात्रा गर्ने यात्रुले दुःख पाउने गरेका छन् । सडक खुलेपछि पनि राती अबेर सम्म सवारी जाम हुने गर्दछ ।






