चितवनः चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेंङ्गुको सङ्क्रमण पुष्टि भएको छ । ९८९ जनाको परिक्षणका क्रममा सो संख्यामा डेंङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा ६ जनामा मात्रै सङ्क्रमण देखिएको थियो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महीनामा सङ्क्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढि रहेको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिबनगर, माडी लगाएतका अस्पतालहरुमा डेंङ्गु रोको परिक्षण गरिदैं आएको छ । उहाँले भन्नुभयो “यो वर्ष डेंङ्गुको सङ्क्रमण फैलने जोखिम उच्च छ ।” गत वर्षहरुको तुलनामा यो बर्ष सङ्क्रमणदर उच्च हुने उहाँको भनाई छ । भदौ, असोज र कात्तीक महिना डेंङ्गुका लागि उच्च जोखिमका महीना रहेको उहाँले बताउनुभयो ।
डेंङ्गुज्वरो एडिज जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्दछन । यो लामखुट्टेले प्रायः विहान र साँझ टोक्ने गरेको पाइन्छ । डेंङ्गुको सङ्क्रमण देखिए एक्कासी ज्वरो आउने, ज्वरो ५, ७ दिन सम्म रहने, आँखाका गेडी तथा टाउको दुख्ने, शरीर कट्कट दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरिरमा बिबिरा आउने जस्ता लक्ष्यण देखा पर्ने उहाँले जानकारी दिनुभयो ।
भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कालिदाश अधिकारीले अहिले दिनहुँ जासो डेङ्गुका बिरामी अस्पताल आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “पहिलाको भन्दा अहिले डेंङ्गुका बिरामीको संख्या वढ्दो छ ।” डा. अधिकारीका अनुसार अहिले डेंङ्गुका बिरामीको बृद्धिदर ५ देखि ७ प्रतिशतमा रहेको छ । डेंङ्गु रोको सङ्क्रमणबाट बच्नका लागि पुरा बाहुला भएको कपडा लगाउने, झुल भित्र सुत्ने, घर वरीपरि सरसफाई गर्ने गर्नुपर्ने उहाँले बताउनुभयो । घर वरीपरी भएका खाल्डाहरु पुर्ने र पानी जम्ने ठाउँ भए त्यहाँ हप्तामा एक पटक मट्टितेल छर्कने गर्नुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लामा ५ हजार ४५४ जनाको परिक्षण गर्दा ३ सय ३ जनामा डेंङ्गुको सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !