चितवनः तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट गम्भीर घाईते भएका बालकको स्वास्थ्यमा सुधार आएको छ । बन्दीपुर गाउँपालिका वडा नं. १ निवासी ३ वर्षिय सुलभ परियारको पाँच दिन अघि चितुवाले आक्रमण गरी गम्भीर घाईते बनाएको थियो । चितुवाले लगेका बालकलाई उनकी आमा लक्ष्मी परियारले मुखबाट खोसेर बचाउनु भएको थियो ।

गम्भीर भएका बालकलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज ल्याईएको थियो । समन्वयकारी भूमिका निर्वाह गरेका पत्रकार सुवास पण्डितका अनुसार तत्काल कलेजमा शल्यक्रिया गरी उपचार बढेकाले बच्चाको अवस्थामा सुधार आएको हो । उहाँले भन्नुभयो “हामीले चितवन मेडिकल कलेजका जिम्मेवार व्यक्तिहरुलाई फोन गरेर बच्चा आउनु पूर्व नै तयारी गरिएको थियो ।”

बच्चाको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । बच्चाको घाँटीमा गम्भीर चोट लागेको थियो । श्वास नली र रगत बग्ने मुख्य नसामा क्षति हुन नपाएका कारण बचाउन सकिएको हो । डा. लम्सालले चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुख जस्ता महत्वपूर्ण अंग क्षति हुनबाट जोगिएको बताउनुभयो । उहाँले भन्नुभयो “श्वास नली र घाँटी हुँदै रगत बग्ने मुख्य नसामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको छ ।”

अस्पतालका डा.सुरेशराज शर्मा, डा. सुमित अधिकारी, डा. नविनकृष्ण यादवको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार परियारको घाँटीमा मल्टिपलपञ्चर (ठाउँठाउँमा गहिरो चोट परेको र मासु समेत च्यातिएको) थियो । देव्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाईएको छ भने घाँटीको शल्यक्रिया गरिएको छ ।

बालकका बाबु सुवास परियारले घाउ हेर्दा निकै गम्भीर देखिए पनि शल्यक्रिया सफल भएको बताउनुभयो । उहाँका अनुसार बुधबार साँझ ५ः३० बजेको समयमा आँगनमा खेलिरहेका सुलभलाई चितुवाले लगेको थियो । घरभित्र र पिढीमा घरका अन्य सदस्यहरु भईरहेको समयमा चितुवाले लगेको उहाँको भनाई छ ।

चितुवाले ५० मिटर माथिसम्म पु¥याएको थियो । आमा लगायतका परिवारका सदस्यले हारगुहार गरेपछि चितुवा बालकलाई छोडेर भागेको सुवासले बताउनुभयो ।

अस्पतालले बालकलाई निःशुल्क रुपमा शल्यक्रिया गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार औषधि लगायत अन्य लागत शुल्क मात्रै लिईएको छ । बच्चालाई सघन उपचार कक्षबाट साधारण कक्षमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस !