चितवनःजिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अध्यावधिक दाबि बिरोधका लागि एक साताको समय छुट्याएको छ । कार्यालयले आज यहाँ निर्बाचनका सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा भदौ १३ गते देखि १८ गते सम्म अध्यावधिकका लागि समय दिएको हो ।
कार्यालयका प्रमुख भिमशेन कार्कीका अनुसार १२ गते सम्म सम्पूर्ण वडाहरुमा नामावली पुगि सक्ने छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचनका लागि नामावली अध्यावधिक गर्न लागिएको हो । १३ गते देखि १५ गते सम्म मतदाता नमावलीमा रहेको त्रुटी सच्याउने, झुटा बिबरण दिई नामावलीमा नाम दर्ता गराएको भए उजुरी दिने, मतदाताको नाम एक भन्दा बढि जिल्लामा भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने रहेका छन् । यस्तै १३ गते देखि १६ गते सम्म नागरिकता त्याग गरेका वा मृत्यु भएका मतदाताको नामावली हटाउनको लागि सूचना दिने, बसाई सरी अन्यत्र गएको, मृत्यु भएको, नागरिकता त्याग गरेका बा नागरिकता रद्ध भएका मतदाताको बिबरण स्थानीय पञ्जीकाधिकारीबाट प्राप्त गर्न, १३ देखि १७ गते सम्म उजुरी परेका मतदाताहरुलाई प्रमार्ण सहित सफाइको मौका दिने, नागरिकता त्याग गरेका, रद्ध भएका, बसाई सरी अन्यत्र गएका र मृत्यु भएका मतदाताको नामावली हटाउने निर्णय गर्ने छ । यस्तै १६ र १७ गते हटाउने निर्णय भएका नामावली हटाउने, १७ र १८ गते उजुरी परेका मतदातालाई प्रमाणसहित सफाईका लागि आएका मतदाताको नाम हटाउने वा राख्ने निर्णय गर्ने, त्रुटी सच्याउने र नम हटाइएको सूचना कार्यालयमा प्रकाशन गर्ने रहेको छ ।
जिल्लामा हाल ४ लाख १२ हजार १६५ जना मतदाता रहेका छन् । प्रतिनिधि सभा निर्वाचन २०७४ मा ३ लाख ५४ हजार ३६ मतदाता रहेका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचन भन्दा ५८ हजार १२९ जना मतदाता थपिएका छन् । अन्तिम नामावली प्रकाशनका क्रममा केही नाम घट्न सक्ने कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !