चितवनः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू संघर्षरत रहेको बताउनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलन्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा उहाँले राजनीतिक स्थायित्वका लागि आफ्नो संघर्ष कायम रहेको बताउनुभयो ।
कम्युनिष्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उहाँले पछिल्लो समय विकासका कामहरु तीब्र गतिमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो “विगका वर्षहरुमा कोरोनो महामारी र यस अघिको सरकारको अवरोधका कारण विकासले गति लिन सकेन ।” माडीको विकासमा निकुञ्ज ऐन बाधक रहेको भन्दै उहाँले त्यसलाई समय सापेक्ष बनाउने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
माडीको विकास र समृद्धि बिना आफूले लिएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै उहाँले चितवनलाई देशकै विकासको मोडेल बनाएर लागूगर्ने संकल्प आफ्नो रहेको छ भन्नुभयो । बाँदरझुला र माडीका भूमिहिन सुकुम्बासीहरुको जग्गा नाप्ने काम तीन दिनभित्र शुरु हुने उहाँको भनाई छ । नापजाँच सकिएसँगै जग्गाधनी पूर्जा वितरण गरिने उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि र विद्युतीकरणको क्षेत्रमा माडीमा ठूलो क्रान्ति भएको बताउँदै उहाँले माडीको विकासबिना चितवनको समृद्धिको सपना साकार नहुने बताउनुभयो ।
उहाँले माडी नगरपालिका वडा नं. ५ र ६ जोड्ने रतनी खोला पुलको उद्घाटन, १२ किलोमिटर लामो बरुवा बजार–भैरवपुर–पर्साचोक–बैदार सिम्रेनी–गंगटे सडक शिलन्यास, टम्टा खोला तटबन्धको शिलन्यास गर्नुभयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदिप यादवले माडीका जनताको समस्या विकाराल रहेको भन्दै समाधान गर्न हरदम प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “निकुञ्ज हाम्रो गहना हो । यसको संरक्षणसँगै वरपरका नागरिकको समस्या हल गर्दै अगाडि बढ्नुको विकल्प छैन ।” मन्त्री यादवले भरतपुर–माडी–ठोरी हुलाकी सडकमा ठाउँठाउँमा समस्या रहेको भन्दै निकास खोज्ने बताउनुभयो ।
भौतिक योजना तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले माडी क्षेत्रको विकासका लागि बजेट प्राथमिकतामा राखिएको बताउनुभयो । माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा बितेको ५ बर्षमा विकासले तीब्रता पाएको बताउनुभयो ।






