चितवनः गृहमन्त्रालयले मिटरव्याजबाट पिडितहरुको उजुरी संकलनका लागि स्थानीय प्रशासनलाई दिएको समय भित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन ।
कार्यालयका नायव सुब्बा बिश्वास श्रेष्ठका अनुसार साउन २९ गते देखि भदौ ५ गते सम्म ती उजुरी परेका हुन । उजुरीको बारेमा जाँचबुझ भईरहेको उहाँले जानकारी दिनुभयो । मिटरव्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अफ्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरु माथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवार बिचल्ली भएको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन गरेको थियो । सोही निर्देशन अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले जानकारी दिनुभयो ।
तामाङका अनुसार प्रशासनमा परेका निवेदनका आधारमा सरोकारवाला दुबै पक्षलाई बोलाएर छलफल गरिने छ । छलफलमा सहमती नभए कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने बताउनुभयो । कारवाहीका लागि प्रहरीकोमा पठाए संगै गृहमन्त्रालयमा समेत सिफारीस गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बंैकिङ कसुर र मुलुकी अपराध संहिता अनुसार मुद्धा चल्छ ।” चलन चल्तिको भन्दा बढि व्याज लिन नपाईने उहाँको भनाई छ ।






