चितवनः राष्ट्रिय भूमि आयोग अन्तर्गतका कार्यालयहरुमा १२ लाख भूमिहिनको निवेदन परेको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीको निवेदन संकलन भएको हो ।

यो संख्या १५ लाख हाराहारी पुग्ने अनुमान आयोगका पदाधिकारीले गरेका छन् । ती मध्ये भूमिहिन दलित १५ प्रतिशत, भूमिहिन सुकुम्बासी २० प्रतिशत र अव्यवस्थित बसोबासी ६५ प्रतिशत हाराहारी रहेको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिनुभयो । निवेदन संकलन भएकाहरु मध्ये ६ लाखको कम्प्युटर इन्ट्री भईसकेको छ । दैनिक ५ हजार हाराहारीको इन्ट्रीको काम भईरहेको छ ।

निवेदन संकलन भएकाहरुमध्ये ६ लाखलाई निस्सा वितरण गरिसकिएको छ । कम्प्युटर इन्ट्री बाँकी रहेकालाई पनि निस्सा भने वितरण गरिएको छ । आयोगले ५ सय ३० स्थानीय तहहरुसँग कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम अघि बढाएको छ । बाँकी स्थानीय तहमा यस अघि नै सहमति भई काम भईरहेको थियो । यही भदौ २ गतेबाट २४० स्थानीय तहमा लगत संकलन फर्म भर्ने काम भईरहेको उहाँले जानकारी दिनुभयो । ती बाहेकका पालिकामा यो काम भईसकेको छ ।

पहिला फर्म भरेका पालिकाहरुमा छुटेकाहरुका लागि दोस्रो पटक सूचना आव्हान गरिएको खड्काले बताउनुभयो । ३३ स्थानीय तहमा लालपूर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आयोगले २०७८ भदौमा काम थाल्दा निवेदन संकलन गरिएको भए पनि कम्प्युटर इन्ट्री थोरै मात्र भएको खड्काले जानकारी दिनुभयो । आयोगले यस अघिका अधुरा कामहरु समेत गरिरहेको छ । यस अघिका आयोग, कार्यदल, जग्गा दर्ता समितिहरुले काम गर्दा छुटेका र समस्या देखिएकाहरुलाई सम्बोधन गर्ने काम भईरहेको खड्का बताउनुहुन्छ ।

आयोगले शहरी र ग्रामीण क्षेत्रमा प्रयोजनका आधारमा १३० वर्ग मिटरदेखि १ विगाहा १० कठ्ठासम्म जग्गा दिने व्यवस्था गरेको छ । ठाउँ अनुसार क्षेत्रफल धेरै र थोरै छ । चालु आर्थिक वर्षमा ५ लाखलाई लालपूर्जा वितरण गर्ने गरी काम भईरहेको उहाँको भनाई छ । बाँकीलाई आउँदो वर्ष लालपूर्जा वितरण गर्न सकिने खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले लिएको लक्ष्य अनुसार काम सम्पन्न प्राविधिक र श्रोत साधन थप चाहिन्छ ।”

स्थानीय तहहरुले समन्वय र सहयोग गरेका ठाउँहरुमा काम छिटो अघि बढेको छ । नेपालमै भरतपुर महानगरपालिकामा आयोगको काम धेरै भएको खड्का बताउनुहुन्छ । महानगरपालिकाले प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण खरिद गरेर कामलाई छिटो गर्न सहयोग गरेको छ । नापजाँचका लागि आयोगसँग न्यून उपकरण छन् ।

भरतपुर महानगरपालिकाले आफैले खरिद गरेर हाई रिजुलेसन सेटलाईट ईमेज आयोगलाई उपलब्ध गराएको छ । खड्काले भन्नुभयो “भरतपुर महानगरपालिकाले झै प्राथमिकता दिएमा छिट्टै भूमिहिनलाई पूर्जा वितरण गर्न सकिन्छ ।”

अन्य पालिकाहरुले पनि सहजीकरण गरिरहेको हुँदा काममा सहजता आएको खड्का बताउनुहुन्छ । आयोगमा परेका निवेदनहरु ९१ वर्ष उमेरसम्मका जेष्ठ नागरिकको समेत छ । उनीहरु पुस्तौंदेखि लालपूर्जा विहिन भएर बसेकाहरु समेत छन् ।

प्रतिक्रिया दिनुहोस !