चितवनः जिल्लामा भएका छुट्टा छुट्टै दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरीनटारमा ट्रकमा मोटरसाईकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक र सवार दुबै जनाको मृत्यु भएको हो । आज बिहान ३ः३० वजे पृथ्वी राजमार्ग अन्तर्गत कुरीनटारमा भएको दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाईकल चालक दैलेखका २५ वर्षिय सरोज रोकाय रहेका छन् । मोटरसाईकल पछि सवार सर्लाहीको इश्वरपुर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३१ को सरोज माझी रहेको कार्यालयले जनाएको छ ।
ठक्करबाट घाईते दुबै जनाको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यस्तै पूर्बी चितवनको रत्ननगरमा पैदलयात्रीलाई वोलेरोले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर ९ खगेरी पुलमा भएको दुर्घटनामा परि पैदलयात्री स्थानीय ७१ वर्षिय खड्क वहादुर रानामगरको मृत्यु भएको कार्यालयले जनाएको छ । बिहान ५ः४५ वजे बोलेरेले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने वोलेरोको पहिचान खुल्न नसकेको कार्यालयले जनाएको छ ।
ठक्करबाट घाइृते पैदलयात्रीको उपचारका क्रममा ६ः१५ वजे चितवन मेडीकल कलेजमा मृत्यु भएको हो । घटनालाई लिएर स्थानीयले सडक अबरुद्ध गरेका छन् । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।






