चितवनः वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याईएका अर्ना र बाह्रसिंगे बाघ, बाढी र रोगले मरेर सकिएका छन् । बि.सं. २०७३ सालमा ल्याईएका १५ वटा अर्ना र बि.सं. २०७४ सालमा ल्याईएका ७ बाह्रसिंगे सखाप भएका हुन् । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात वटा बच्चा जन्माएको थियो । ती समेत सबै मरेका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार बाँकी रहेका तीन वटा अर्ना सोमबार बाघले खाएपछि सबै सकिएका हुन् । पानी छिर्ने ठाउँबाट बाघ पसेर तीन वटै अर्ना खाएको अनुमान निकुञ्जले गरेको छ । यस अघि एउटा अर्ना बाघ पसेर खाएको थियो । तत्कालिन समयमा ल्याईएका १५ र यहाँ जन्मिएका ७ गरी २२ वटा अर्ना सबै मरेका हुन् । चार वटा बाघले खाएको हो भने बाँकी रोग र बाढीले बगाएर मरेका हुन् ।
आचार्यले संरक्षणका लागि ठूलो प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताउनुभयो । गत आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनाको अवधिमा १० वटा अर्ना मरेका थिए । साउनदेखि मङ्सिर मसान्तसम्म १० वटा अर्ना मरेका हुन् । ६ वटा भाले र चार वटा पोथी अर्ना मरेका थिए । बाँकी रहेका तीन वटा पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको संख्या शुन्य भएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । ती मध्ये दुई पोथी ल्याउने वित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको एक बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो । सो बाह्रसिंगे पनि मरेको अनुमान गरिएको छ ।
तत्कालिन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ ५ भाले सहित २५ बाह्रसिंगे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरेर कोसीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो । चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि विसं २०७३ माघमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट ३ गरी १५ वटा अर्ना निकुञ्जमा ल्याइएका थिए । अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो । विसं २०७४ सालमा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए ।
अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमिमा बस्न रुचाउँने प्रजाति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।
सन् १९६१ सम्म चितवनको घना जंगलमा अर्ना पाइन्थ्यो भन्ने भनाई छ । त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए । निकुञ्ज स्थापना हुनुभन्दा करिब ११ वर्षअघि नै अर्ना यहाँका जंगलबाट लोप भएको संरक्षणकर्मीहरु बताउँछन् । निकुञ्जबाट अर्ना लोप हुनुको कारण वासस्थान विनास हुनु, अर्नाको चोरी शिकारी हुनु र बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षणविद्हरुले कारण मान्दै आएका छन् ।
कोसीटप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुने सक्ने भन्दै पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी निकुञ्जमा ल्याइएको थियो । कोसी टप्पुको जस्तै हावापानी र आहार निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सूचना अधिकारी तिवारी बताउनुहुन्छ ।
वि.सं. २०७१ मा नै सरकारले पाँच भालेसहित २० वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने निर्णय गरेको थियो । तर, १५ वटा ल्याइयो, थप ५ वटा ल्याइएन । यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो । अर्नाको सरदर आयु २५ वर्ष हुन्छ । यिनीहरुले आफ्नो जीवनकालमा ५ वटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना ३–४ वर्षमा र पोथी अर्ना २ देखि ३ वर्षको उमेरमा प्रजननयोग्य हुन्छ । यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुने गर्दछ ।






