चितवनः भरतपुर महानगरपालिका भित्रका दुई मुख्य सडकमा साउन अन्तिम साताबाट भूमिगत बिद्युतीकरणको काम सुरु गरिने भएको छ । भरतपुरको पुलचोक देखि गोन्द्राङ सम्मको ६ लेन सडक र बाईपास सडकमा भूमिगत बिद्युतीकरण गर्न लागिएको हो ।
भरतपुर महानगरलाई सुन्दर सहर वनाउन यो थप सहयोगी हुने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार यही साउन ३० गतेबाट बिद्युतीकरण अन्तर्गत निर्माणको काम सुरु गर्न लागिएको हो । भूमिगत बिद्युतीकरण गर्दा बिभिन्न निकायका बिचमा समन्वय आबश्यक पर्दछ । निरन्तर समन्वय र बैठक आयोजना गरिरहेको महानगरका प्रमुख दाहालले सबै निकायका बिचमा समन्वय गराएर काम थाल्न लागिएको जानकारी दिनुभयो । यो परियोजना नेपाल बिद्युत प्राधिकरणको पोखरा–भरतपुर बितरण प्रणाली सुदृढिकरण आयोजनाले हेर्दै आएको छ ।
दाहालका अनुसार निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई परेको छ । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत बिद्युतीकरणको काम गर्ने छ । परियोजनाका इन्जिनियर बिनोद सापकोटाका अनुसार अमेरिकि डलरमा टेण्डर भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु २ अर्ब ५० करोड हाराहारी हुन आउँदछ । यो रकम भरतपुर र पोखरामा अधा आधा खर्च हुने छ । सापकोटाको भनाईमा महानगरको अगुवाईका कारण राजधानी बाहिर पहिलोपटक भरतपुरमा काम थाल्ने अबस्थामा पुगेको छ । अन्य ठाउँमा भन्दा यहाँ छिटो काम हुन लागेको हो । उहाँले भन्नुभयो “बिभिन्न निकाय संग समन्वय गरेर काम अघि बढाउन महानगरले अगुवाई गरेका कारण काम छिटो सुरु गर्ने अबस्थामा हामी पुगेका छौ ।”
भरतपुर बाइपास सडकको पुरै र ६ लेनको पुलचोक देखि केन्द्रिय बस ट्रमिनल सम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ् सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उहाँले जानकारी दिनुभयो । सन् २०२२ जनवरीबाट लागु हुनेगरि निर्माणको सम्झौता भएको छ । सन् २०२४ को जनवरी सम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ ।
भरतपुरका दुई सडक गरि ११ किलोमिटर क्षेत्रमा बिद्युत भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रुपमा पावर ग्रिड कम्पनीले हरेरीरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । महानगरका शहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समसया हुने गरेको छ । यस संगै दुई सडकमा पोल ढलेर हुने समस्या अन्त्य हुने छ । यी सडक हुँदै अन्य क्षेत्रमा तार जाने भएकाले यो जिल्ला भरका लागि उपयोगि परियोजना वन्ने छ । संगसंगै भरतपुरको सुन्दरतालाई पनि सहयोगि हुने छ ।
भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगर बासीले बिद्युतका कारण भोगेका समस्या धेरै कम हुने र सुन्दर बन्ने बताउनुभयो । यो परियोजनामा हुने खर्चले सिंगो जिल्लामा बिद्युतीकरण गर्न सकिने भए पनि यहाँको महत्वलाई प्राथमिकतामा राखेर ठूलो खर्च गरि महत्वपूर्ण परियोजना अघि सारिएको उहाँले बताउनुभयो । नेपाल टेलिकम संग समेत सहकार्य गरेर काम अघि बढाउन परियोजनालाई भनिएको अधिकारीको भनाई छ । यस संगै निजी क्षेत्रका तार समेत भूमिगत गर्न सकिने गरि आयोजनाले काम गर्न लागेको छ ।






