चितवनः चितवन मेडिकल कलेजले रु. २ अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैं अघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्यूट निर्माण गरिएको हो ।

देशभरका मेडिकल कलेजहरुमा अग्रणी मानिएको चितवन मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल शुरु गर्न लागेको हो । दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीब्र रुपमा काम भईरहेको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले इन्स्टिच्यूटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन ।” भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरणहरु यहाँ जडान भएको उहाँको भनाई छ । अस्पतालले अत्याधुनिक उपकरणहरु खरिदमा मात्रै रु. १ अर्ब २७ करोड खर्च गरेको डा.लम्साल बताउनुहुन्छ । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी रु.२ अर्बभन्दा बढी खर्च लाग्ने उहाँको भनाई छ ।

क्यान्सरसँगसँगै अन्य उपचारका लागि सँगै मेडिकल कलेज भएकाले केही खर्च कटौटी भएको उहाँ बताउनुहुन्छ । यस इन्स्टिच्यूटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने डा.लम्सालको भनाई छ ।

भारत, अमेरिका जस्ता देशमा अध्ययन गरेर ठूला अस्पतालमा काम गरिरहेका मेडिकल अंकोलोजी, रक्त क्यान्सर, सर्जरी लगायतका समूह यहाँ ल्याईदै छ । उहाँले भन्नुभयो “हामीले विश्वका ठूला अस्पतालमा कामको अनुभव लिएका चिकित्सकहरुसँग सम्झौता गरिरहेका छौं ।” गुणस्तरमा कमी हुन नदिने गरी एक सय शैयाको आधुनिक अस्पताल निर्माण गरिएको हो ।

डा.लम्सालले थप्नुभयो “क्यान्सरका बिरामीलाई लामो समय पालो कुर्नु पर्ने र विदेश जानु पर्ने बाध्यता अन्त्य होस् भनेर अस्पताल शुरु गरेका हौं ।” उहाँले अगाडि थप्नुभयो “धेरै बिरामी भारतको दिल्ली जान्छन्, त्यहाँको ठूलो अस्पताल राजीवगान्धीको भन्दा एक स्तर उच्च उपकरण हामीले यही ल्याएका छौं ।”

नेपालका आधाभन्दा बढी क्यान्सरका बिरामी उपचारका लागि भारत लगायतका देश जाने गर्दछन् । अत्याधुनिक उपकरण रेडिएसनका लागि जडान गरिएको छ । उहाँको भनाईमा यो उपकरणले दैनिक एक सय जनासम्मलाई रेडिएसन गर्न सक्दछ । रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ । ट्रियूबिम ९त्चगभ द्यभबm० मोडलको भेरिएन ९ख्बचष्बल० कम्पनीको लिन्याक उपकरण आधुनिक प्रविधिको हो ।

चितवन मेडिकल कलेजसँगै ६ तले ४८ हजार स्क्वायर फिटको भवनमा बंकर सहितको क्यान्सर अस्पताल निर्माण गरिएको छ । इन्स्टिच्यूटमा रेडिएसन संचालनका लागि अन्तिम तयारीमा रहनु भएका रेडिएसन अंकोलोजिष्ट डा.सुवास ठाकुरले रेडिएसन उपकरणभित्र ६डि काउज र हाईपर आर्च रहेको भन्दै यसले टाउको भित्रको ट्यूमरलाई शल्यक्रिया बिना नष्ट गर्ने बताउनुभयो । यो रेडियो सर्जरी रेडिएसन प्रविधिबाट नेपालमा पहिलो पटक उपचार गर्न लागिएको उहाँ बताउनुहुन्छ ।

त्यसैगरी ब्रेकी थेरापीमार्फत् शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि यहाँ ल्याईदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ । एसबिआरटि प्रविधि मार्फत् उपचार भईरहेको बिरामीको ट्यूमर प्रत्यक्ष हेरेर आवश्यक थप मात्रा प्रयोग गरी उपचार गर्न सकिने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “मैले भारतका ठूला अस्पतालमा पनि काम गरेँ । त्यहाँको भन्दा अरु आधुनिक प्रविधि यहाँ ल्याईएको छ ।”

इन्स्टिच्यूटले क्यान्सर उपचारका क्रममा विकिरणहरु बाहिर आएर नागरिक र कर्मचारीलाई असर नगरोस् भन्नका लागि निर्माणको समयदेखि नै भारतीय विज्ञको निगरानीमा काम भईरहेको छ । सुरक्षा अधिकृत सलोनी चावलाले बाहिरी वातावरणमा रेडिएसन नजानका लागि निर्माणको समयदेखि नै निगरानी गरिएको बताउनुभयो । उहाँको भनाईमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बंकर निर्माण गरिएको छ । यससँगै सफल परीक्षण समेत गरिएको भन्दै उहाँले विकिरण काममा खटिनेहरुमा के कस्तो रहेको छ भन्ने विषयमा नियमित परीक्षण भईरहेको जानकारी दिनुभयो ।

भारतसहितका विभिन्न देशका विज्ञहरुसँग परामर्श र त्यहाँका जनशक्ति झिकाएर इन्स्टिच्यूटको निर्माणदेखि नै काम गरिएको हो । १४ वर्ष अघि स्थापना भएको चितवन मेडिकल कलेजमा हाल वार्षिक ३ लाख ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिंदै आएको छ । नेपालभरी र भारतीय बिरामी पनि यहाँ उपचार गर्न आउने गर्दछन् ।

यस अस्पतालमा २८ विभागमार्फत् सेवा दिईदै आएको छ । क्यान्सरका बिरामीलाई अन्य विभागको सेवा समेत आवश्यक पर्ने भएकोले उपचार सहज हुने अस्पतालको ठम्याई छ ।

नेपालमा भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र काठमाण्डौं क्यान्सर सेन्टरमा मात्रै क्यान्सरको उपचार हुने चिकित्सकहरु बताउँछन् । यहाँ सेवा लिन कठिन भएका बिरामीका लागि यो इन्स्टिच्यूट सहयोगी हुने विश्वास लिईएको छ । सरकारले क्यान्सरका बिरामीलाई उपचारमा रु. १ लाखसम्म सहयोग गर्दै आएको छ । विदेश जाने जाने बिरामीले यो सुविधा पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस !