चितवनः आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदान स्थल थपिएको छ भने ९ वटालाई स्थानान्तरण गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका वडा नम्बर २ मा रहेको जीवनपुर राष्ट्रिय आधारभूत बिद्यालयमा रहेको मतदान केन्द्रलाई बिभाजन गरी देबिस्थानमा थप गरिएको हो ।
जिल्ला निर्बाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता तीन घण्टा सम्म हिडेर आउनु पर्ने भएकाले केन्द्र बिभाजन गरी थप गर्ने निर्णय गरिएको हो । उहाँका अनुसार दुई वटा केन्द्रको त्रुटी सच्याउने र ९ वटा केन्द्र स्थानान्तरण गर्ने काम गरीएको हो ।
कार्कीका अनुसार ९ वटा कतदान केन्द्र मतदातालाई पायक पर्ने स्थानमा स्थानान्तरण गरीएको छ । बिद्यालय गाभिएका, भौतिक संरचना निर्माण भई कम्पाउण्ड साघुरो भएका केन्द्रहरुलाई स्थानान्तरण गरिएको हो । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यबिधि २०७७ अनुसार केन्द्रहरु आफ्नै वडामा हुनु पर्ने भएकाले दुई वटा केन्द्र वडामा सारीएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ८ मा रहेको शरदपुर माध्यामिक बिद्यालय मतदान स्थललाई वडा नम्बर ९ मा रहेको शरदपुर माध्यामिक बिद्यालय प्राबिधिक शिक्षालयमा सारीएको छ । यस्तै राप्ती नगरपालिका वडा नम्बर २ मा रहेको बुद्धशान्ति क्याम्पसको मतदान स्थललाई राप्ति नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा स्थानान्तरण गरिएको छ । यी दुबै स्थल वडा बाहिर रहेका थिए ।
जिल्ला निर्बाचन कार्यालय चितवनले असार १ गते देखि सुरु गरेको नामावली संकलन कार्यमा नयाँ नाम दर्ता गर्नेको संख्या १४ हजार ७३१ जना रहेको छ । जस मध्ये जिल्लाका १२ हजार ९६३ जना रहेको कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार जिल्लाको तीन स्थानबाट गरिएको नामावली संकलनका क्रममा उनीहरुले नाम दर्ता गराएका हुन । नाम दर्ता गराउने मध्ये १ हजार ७६८ जना बाह्य जिल्लाका रहेका छन् । उनीहरुले यहाँ नामावली दर्ता गराएको भए पनि सम्बन्धित जिल्लामानै पठाईने उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्बाचन २०७९ मा जिल्लामा ३ लाख ९७ हजार ६८५ जना मतदाता रहेका थिए । जिल्लामा १ सय ६१ मतदान स्थलमा रहेका ४ सय ५१ मतदान केन्द्र रहेका थिए । संघिय र प्रदेश सभा निर्बाचनमा मतदान स्थल थप भए संगै केन्द्र समेत थप हुने कार्कीले बताउनुभयो ।






