चितवन,साउन १५ । चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, आज १० जल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । महाशाखाका अनुसार चितवनसहित नवलपरासी पूर्व, इलाम, झापा, सङ्खुवासभा, उदयपुर, सिन्धुली, तनहुँ, कास्की, दार्चुला र आसपासका क्षेत्रका साना नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।
यसैबीच, अबको तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । आज, भोलि र पर्सि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।






