चितवनः जिल्लाका अस्पतालहरुमा कोरोना भईरसको संक्रमण बढ्दै गएको छ । यहाँका ठूला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो । भरतपुर अस्पताल, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडीकल कलेजका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार चितवन मेडीकल कलेजमा ११ जना, भरतपुर अस्पतालका ४ जना र क्यान्सर अस्पतालमा एक जनामा कोरोना देखिएको हो । अस्पतामा काम गर्ने सरसफाई कर्मचारी देखि चिकित्सक सम्ममा कोरोना देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाको पहिलो चरणमा जस्तै अहिले अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिन थालेको छ ।”
जिल्लामा पछिल्लो समय कोरोना संक्रमण तिब्र गतिमा फैलदैं गएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल ६१ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु मध्ये ५८ जना होम आइसोलेसनमा रहेका छन् भने तीन जना अस्पतालमा रहेका छन् । सामान्य रुघा, खोकि, ज्वरो लगाएतका लक्षणमा समेत कोरोना सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पिसिआर परिक्षण र एन्टीजिन परिक्षणका क्रममा समेत कोरोना पुष्टि हुने क्रम बढ्दै गएको छ । जिल्लामा हाल सम्म ३३ हजार ६ सय ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।





