चितवन:नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्री परिषदको साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिबको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिब डा. दामोदर रेग्मीका अनुसार सहरी बिकास मन्त्रालयका सहसचिब प्रकृर्ण तुलाधरको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयको सिफारीसमा मन्त्री परिषदले निर्णय गरेको डा. रेग्मीले जानकारी दिनुभयो । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका सिनियर डीभिजन इन्जीनियर प्रकाश अर्याल, आर्थिक प्रशासन प्रमुख ÷लेखा अधिकृत युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर राजु श्रेष्ठ सदस्य रहने गरी प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत दिपेन्द्र रावल, भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल सदस्य रहने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
समितिले २१ दिन भित्र प्राविधिक प्रतिवेदन तयार गरी पेश गर्ने छ । समितिमा आवश्यकता अनुसार राष्ट्रिय सतर्कता केन्द्रलाई समेत राख्ने गरि समिति गठन गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले स्वामित्व ग्रहण गर्ने सम्बन्धमा मन्त्रीपरिषदमा पेस गरेको प्राविधिक समिति गठनको बिषयमा मन्त्रीपरिषदले निर्णय गरेको हो । यस समितिले रंगशाला निर्माण कार्य के कसरी प्रारम्भ भयो, रंगशाला निर्माणका लागि तयार गरिएको संरचना (स्ट्रकचर), ड्रईङ्ग, डिजाईन र लागत अनुमान अन्तराष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भन्ने बिषयमा अध्ययन गर्ने छ । यस्तै निर्माणस्थलको जग्गाको स्वामित्वको बिषयमा विस्तृत अध्ययन गरी उक्त बाँकी निर्माण कार्य कुन विधिबाट सम्पन्न गर्न उचित हुने भन्ने बिषयमा समेत प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले काम अघि बढाउने सचिव रेग्मीले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मन्त्री परिषदको निर्णय रंगशाला निर्माणका लागि महत्वपूर्ण उपलव्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो “पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित जिल्लाका जनप्रतिनिधिहरुको डेलिगेसन पश्चात मन्त्रालय र मन्त्री परिषदको निर्णय स्वागत योग्य रहेको छ ।” छिट्टै रंगशाला निर्माणको काम अघि वढ्नेमा उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

रंगशाला निर्माणका लागि र्धुमुस–सुन्तली फाउण्डेसनले काम गर्दै आएकोमा कोरोना कहर र आर्थिक अभावको कारण देखाउँदै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । भरतपुर महानगरपालिकाको वि. सं. २०७८ साल माघ २७ गतेको स्वामित्व लिन नेपाल सरकारलाई अनुरोध गरे अनुसार अध्ययनका लागि प्राविधिक समिति गठन गरिएको हो । रंगशाला निर्माणका लागि रु ३ अर्ब लाग्ने अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !