चितवनः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षबाट नै अघि बढ्ने बताउनु भएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको विमानस्थल विस्तार सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले तत्काल काम अघि बढाईने बताउनु भएको हो ।
कार्यक्रममा हालसम्म भएका छलफल र कार्यप्रगतिबारे सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको भन्दै अब काम अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो विमानस्थल विस्तारका लागि मन्त्रालयले उच्च महत्व दिएको छ ।”
विमानस्थलको धावनमार्ग विस्तारका लागि तीन सय मिटर जग्गा आवश्यक पर्ने भन्दै उहाँले यस विषयमा प्रधान सेनापतिसँग सकारात्मक छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो “जमिनको कारणले काम रोकिन्न ।”
चितवनका लागि मात्रै नभएर देशकै लागि यो विमानस्थल महत्वपूर्ण भएको भन्दै उहाँले नागरिक उड्डन प्राधिकरणको बजेटबाट काम अघि बढ्ने जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाले निरन्तर रुपमा विमानस्थल विस्तारका लागि घचघच्याउने कार्य गरेकोमा महानगरलाई धन्यवाद दिनुभयो ।
सोही अवसरमा नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले प्राधिकरणकै बजेटबाट विस्तृत अध्ययन प्रतिवेदनको काम तत्काल थाल्ने बताउनुभयो । गर्मीको मौसममा जहाजले पूर्ण क्षमतामा उडान भर्न यहाँ नसकेको भन्दै उहाँले बि.सं. २०८० सालसम्ममा ठूला जहाज राती समेत उडान गर्न सक्ने गरी विमानस्थल विस्तार गरिने बताउनुभयो ।
रातीको समयमा काठमाण्डौं बाहिरका विमानस्थलहरुमा २० वटा जहाज बस्ने गरेको भन्दै उहाँले राजधानी नजिक भएर पनि हवाई सुविधामा पछाडि परेको बताउनुभयो । उहाँले भन्नुभयो “अब हामी ढिलो गर्दैनौं, तत्काल काम थाल्छौं ।”
महानगर प्रमुख रेनु दाहालले पहिलो पटक आफु प्रमुख भएपछि निरन्तर रुपमा विमानस्थल विस्तारमा लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “अब हामी विमानस्थल विस्तारका लागि छलफलमा बस्नु पर्दैन भन्ने मलाई लागेको छ ।”
यो विमानस्थल प्रदेशकै महत्वपूर्ण विमानस्थल बन्ने उहाँले बताउनुभयो । आवश्यक सहजीकरणका लागि महानगर जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको भन्दै उहाँले तत्काल विस्तारका लागि आग्रह गर्नुभयो ।
सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नवलबिक्रम थापाले अहिले भईरहेको धावनमार्गमा ३२२ मिटर विस्तार गरी १ हजार ५०० मिटर पु¥याउन सकेमा ७२ सिट क्षमताको विमान अवतरण हुन सक्ने बताउनुभयो । राती पनि सञ्चालन गर्न सक्ने गरी विमानस्थल विस्तार गर्नु पर्ने उहाँको भनाई छ ।
हाल भरतपुर विमानस्थलको धावनमार्ग १ हजार २०० मिटर लम्बाई र ३० मिटर चौडाई छ । सन् १९६१ मा यो विमानस्थल स्थापना भएको हो । विमानस्थल ५८ विगाहा जमिनमा फैलिएको छ । वरपर घरहरु बनेकाले यो विमानस्थललाई जोखिमका हिसाबले तराईको लुक्का भनेर चिन्ने गरिन्छ ।
धावनमार्ग छोटो हुँदा ३७ सिट क्षमताको विमानमा गर्मीको समयमा १६ जना मात्रै यात्रु बोक्ने गरिएको छ । त्यस्तै ४७ सिट क्षमताको विमानले ४२ जना मात्रै बोक्ने गरेको छ । गर्मीमा हावाको घनत्व कम हुँदा धावनमार्ग लामो आवश्यक पर्दछ ।
भरतपुर महानगरपालिकाले हालसम्म विमानस्थल विस्तारका लागि गरेका प्रयासहरुका बारेमा महानगरका उपसचिव महेन्द्र पौडेलले जानकारी गराउनु भएको थियो । महानगरले नेपाली सेनाको गणलाई स्थानान्तरणका लागि नेपाल ट्रष्टको जग्गा र घोडा प्रजनन् केन्द्रका लागि भरतपुर ११ मा वैकल्पिक जग्गाको व्यवस्था गरिसकेको छ ।
यसैगरी आजै मन्त्री श्रेष्ठको उपस्थितिमा महानगरपालिकामा बसेको बैठकले विमानस्थल विस्तारका लागि प्राविधिक अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक नविनप्रसाद अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ । समितिको सदस्यमा नेपाली सेनाका सेनानी विभुषा क्षेत्री, शैलजा श्रेष्ठ, भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्य, सूर्य श्रेष्ठ र सदस्य सचिवमा प्राधिकरणका नलबिक्रम थापा रहेको समिति गठन गरेको छ । समितिले १५ दिनभित्र प्रतिवेदन दिने निर्णय भएको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो ।






