चितवनः जिल्लामा गत आर्थिक वर्षमा भएका बिभिन्न दुर्घटनामा परि १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३० दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा १०६ जना पुरुष, ३३ जना महिला, ११ बालक र १ जना बालिका रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर अधिकारीका अनुसार जिल्लाका बिभिन्न स्थानमा भएका दुर्घटनामा ८१० वटा सवारी साधन परेका छन् ।
सवारी साधनमा मोटरसाईकल ४१० वटा रहेका छन् । यस्तै जिप कार ११२ वटा, ट्रक, टेंकर १०३ वटा, बस ५७ वटा, शारिरिक शक्तिबाट चल्ने ५४ वटा, ट्याक्टर २२ वटा दुर्घना भएका छन् । यस्तै टेम्पो २० वटा, माइक्रो १६ वटा, टिपर ८ वटा र अन्य ७ वटा सवारी साधन दुर्घटनामा परेको अधिकारीले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्क अनुसार २६५ जना गम्भिर घाईते भएका छन् भने ७०६ जना सामान्य घाईते भएका छन् ।
गत आर्थिक वर्षमा ३४ वटा चौपाया मरेको कार्यालयले जनाएको छ ।आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा ४३५ वटा दुर्घटना भएको थियो । ती दुर्घटनामा १२८ जनाको मृत्यु भएको थियो भने २९० जना गम्भिर घाईते भएका थिए । ६६४ वटा सवारी साधन दुर्घटना हुँदा ४१३ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सवारी दुर्घटना बढि हुनुमा मुख्य चार कारण रहेको कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । जसमा मानवीय कारण, सडकको अबस्था, यान्त्रिक कारण, बातावरणीय कारण रहेका छन् । मानवीय कारण अन्तर्गत चालकको लापरवाही, तिब्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोवाईल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन र यात्रुको गल्ति रहेको छ । सडकको अबस्थामा घुम्ति मोड, उकालो÷ओलारो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीर्ण सडक मापदण्ड बिपरित सडक, साँघुरो सडक रहेका छन् ।
यान्त्रिक गडवढी, सवारीको अबस्था ठीक नहुनु, ब्रेक नलाग्नु, लाईट नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ । यस्तै हुस्सु, बाढी पहिरो, बर्षा, आँधीबेहरीका कारणले समेत दुर्घटना हुने गरेको अधिकारीले जानकारी दिनुभयो । जिल्लामा मुख्य सडकमा भन्दा बढि दुर्घटना भित्रि सडकहरुमा हुने गरेको भन्दै उहाँले यसलाई रोक्न ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नु आबश्यक रहेको बताउनुभयो । भित्रि सडकमा मात्रै २४२ वटा दुर्घटना भएको छ । यस्तै पूर्ब पश्चिम राजमार्गमा १२३ वटा, नारायणगढ मुग्लिन सडक खण्डमा ८५ वटा, शहरी सडकमा ४९ वटा र पृथ्वी राजमार्गमा ३१ ववटा दुर्घटना भएको उहाँले बताउनुभयो ।
यस्तै कार्यालयले गत आर्थिक वर्षमा ३८ हजार ६२२ वटा सवारी साधनलाई कारवाही गरी रु ३ करोड ३० लाख ३७ हजार राजस्व संकलन गरेको छ । कारवाहीमा पर्नेमा समेत सबैभनदा धेरै मोटरसाईकल रहेका छन् । एक वर्षमा ११ हजार २३१ मोटरसाईकललाई कारवाही गरिएको कार्यालयको तथ्याङ्कमा उउल्लेख छ ।
–––

प्रतिक्रिया दिनुहोस !