चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ का वडा सदस्य राजकुमार गुरुङ्को मादक पदार्थ सेवन गरी गाडी चलाउँदा मोटरसाईकलमा ठक्कर खाएको छ । गुरुङ्को गाडीले ठक्कर दिंदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।
मंगलपुरबाट रामपुर तर्फजाँदै गरेको गुरुङ् चढेको ग २ च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका वडा नम्बर १५ सितलचोक नजिक बिपरित दिशाबाट आउँदै गरेको बा ३३ प १४५५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाईकलमा सवार कालिबहादुर गणमा कार्यरत अमल्दार तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घर भएका ३३ बर्षिय सुरज गुरुङ्को मृत्यु भएको हो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन् । वडा सदस्य गुरुङ्ले मादक पदार्थ सेवन गरेको पाईएको कार्यालयका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो । पक्राउ परेका गुरुङ् हालै मात्रै नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन ।

प्रतिक्रिया दिनुहोस !