चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार कृष्ण आचार्य माथि दुव्र्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुरका हाकिम सहित ८ जना विरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ ।
शनिवार पत्रकार आचार्यले किटानी जाहेरी दिएको आधारमा प्रहरीले आज मुद्दा दर्ता गरेको हो । आचार्यले प्राधिकरणका कार्यालय प्रमुख राजिब सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नद बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल विरुद्ध किटानी जाहेरी दिनुभएको थियो । कार्यालय प्रमुख सिंह बाहेक अन्य आरोपित शनिवारबाट नै प्रहरीको हिरासतमा रहेका छन् । मुद्धा दर्ता भएसंगै सिंहलाई पनि पक्राउ पुर्जि जारी गर्ने तयारीमा प्रहरी रहेको छ ।
अभद्र व्यवहार सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ । १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहिताले उल्लेख गरेको छ । पत्रकार आचार्यलाई शुक्रवार कार्यलय परिसरमै मदिरा सेवन गरिरहेको रिपोर्टिङमा पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए । आचार्यको हातमा चोट लागेको छ । भने कपडा समेत च्यातिदिएका थिए । आचार्य नारायणी अनलाइनको सम्पादक तथा प्रेस चौतारी चितवनको उपाध्यक्ष हुनुहुन्छ ।






