चितवनः भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलको ‘लय छुटेको समय’ नामक पुस्तकको उहाँका गुरु डा. शेखर कोईरालाले बिमोचन गर्नुभएको छ । आँफुलाई एमबिबिएस पढाउँदाका गुरु कोइरालाको हातबाट शनिबार पौडेलको पुस्तक बिमोचन गरीएको हो ।
बि. सं. २०५१ साल देखि ०५६ साल सम्म बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पौडेलले अध्ययन गर्दै गर्दा उहाँलाई कोईरालाले पढाउनु भएको हो । राजनितिमा सक्रिय रहनु भएका कोइरालाले एमडि गर्नु भएको छ । उहाँ फिजिसियनको डाक्टर हो । डा. पौडेल अर्थोपेडीक सर्जन हुनुहुन्छ । चिकित्सा सेवा संगै पौडेल साहित्यमा रुचि राख्नुहुन्छ ।
पुस्तक बिमोचन गर्दै कोइरालाले पौडेलले समाज बुझेर पुस्तक लेखेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो “उपचारमा व्यस्त हुने चिकित्सकले लेखे पनि पुस्तकको भाषा र प्रस्तुति रुचिकर र रसिलो छ । समाजको आवश्यकता बुझेर लेखेको पाएँ ।” उहाँ चिकित्सक मात्रै नभएर समाजशास्त्रमा स्नातकोत्तर गरेको व्यक्ति भएका कारणले यो सम्भव भएको हो कोईरालाले थप्नुभयो ।
लेखक पौडेलका अनुसार ‘लय छुटेको समय’ कोरोना महामारीका बेलामा लेखिएको पुस्तक हो । यसमा दुई खण्ड छन् । पहिलोमा उहाँले बिरामीसँग जोडिएका संस्मरण समेट्नु भएको छ । बिरामीको मनोविज्ञान र आफ्नो अनुभूतिको सम्मीश्रण समेटिएको यो खण्ड रोचक पाइन्छ । बिरामीका समस्या, अप्ठ्यारा परिस्थिति तथा बाध्यतालाई उहाँले रोचक कहानीको स्वरुप दिनुभएको छ । पौडेलले भन्नुभयो “म गुरुको हातबाट किताब सार्वजनिक होस् भन्ने चाहन्थेँ त्यो आज भयो ।”
पुस्तकमा कोरोनाकालमा लेखेका केही डायरीहरुका साथै बिरामी र चिकित्सकको सम्बन्ध र समस्याजस्ता विषय समेटिएको छ । निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरुसमेत रहेको पौडेलले बताउनुभयो । दुई खण्ड रहेको पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरु रहेको छ । पुस्तकमा लेखकको चिकित्सकीय र समाजशास्त्रीय दुवै खाले दृष्टिकोणहरु अटाएको छ । उहाँले बिरामी, रोग र उपचारसँग जोडिएर आउने निदानका उपायहरुका साथै अनुभव र मनोभावनाहरु राख्नु भएको पुस्तकको समिक्षा गर्नुभएका एकनारायण पौडेलले जानकारी दिनुभयो । साङ्ग्रिला बुकले प्रकाशन गरेको किताबको मूल्य रु ४९५ तोकिएको छ ।
‘खुसीहरूको वनवास’ कवितासङ्ग्रहबाट नेपाली साहित्यमा पाइला अघि बढाउनुभएका पौडेलको दुई वर्ष अघि ‘कम्मरीदेखि कोभिड कहर’ पुस्तक बजारमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस !