चितवनः भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका आठ जना बिद्यार्थीलाई छात्रबृत्ती प्रदान गरेको छ । आज उनीहरुलाई जनही रु १० हजारका दरले छात्रबृत्ती प्रदान गरिएको हो ।
महानगरपालिकाले अपाङ्ग, लोपन्मुख, अतिसिमान्तकृत, दलित र सहिद परिवारका बिद्यार्थीहरुलाई छात्रबृत्तिस्वरुप सो रकम हस्तान्तरण गरेको हो । प्राबिधिक शिक्षा तर्फ स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका ५० जना बिद्यार्थीलाई छात्रबृत्ती प्रदान गर्ने महानगरको कार्यक्रम रहेको भए पनि पहिलो बर्ष ८ जनाले मात्रै छात्रबृत्तीका लागि आवेदन दिएका थिए ।
छात्रबृत्ती प्रदान गर्नुहुँदै महानगर प्रमुख रेनु दाहालले शिक्षाको पहुँचबाट कोही बन्चित वन्नु नपरोस भन्ने उद्धेश्यका साथ महानगर लागेको बताउनुभयो । उहाँले भन्नुभयो “पढाइमा प्रोत्साहन दिने उद्देश्यले छात्रबृत्ती प्रदान गरेका हौ ।” बिद्यार्थीले प्राबिधिक शिक्षा उतिर्ण गर्दासम्म हरेक वर्ष यो छात्रबृत्ती प्रदान गरीने उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकाले लोपन्मुख र सिमान्तकृत समुदायका ६९२ जना बिद्यार्थीलाई बार्षिक रु ३ हजारका दरले छात्रबृत्ती प्रदान गर्दै आएको छ । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरभित्र रहेका संस्थागत बिद्यालयमा अध्ययनरत २३९ जना बिद्यार्थीले पूर्ण छात्रबृत्ती प्रदान गरेर कक्षा ११ र १२ मा अध्ययन गर्दै आएको बताउनुभयो । महानगरलाई शिक्षाको केन्द्र बनाउने उद्देश्यले शिक्षा क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको उहाँले जानकारी दिनुभयो ।





